

वीरगंज | मेची-महाकाली पदयात्राअघि मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ।
सर्लाही क्षेत्र नम्बर ४ का सभापति तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आगामी कात्तिक ३० गतेदेखि सुरु हुने ६० दिने ‘मेची-महाकाली पदयात्रा’लाई लक्षित गर्दै संगठन सुदृढीकरण तथा पूर्वतयारी अभियान अघि बढाएका छन्।



हुलाकी राजमार्ग हुँदै मेचीदेखि महाकालीसम्म सञ्चालन हुने पदयात्राको पूर्वतयारीका क्रममा सिंहले सुनसरी र सप्तरीका विभिन्न स्थानमा क्षेत्रीय, पालिका तथा वडा तहका नेता-कार्यकर्ता, शुभेच्छुक र स्थानीयवासीसँग छलफल तथा भेटघाट गरिरहेका छन्।
गत असोज १६ गतेदेखि हुलाकी राजमार्गको रुट तथा सडकको अवस्थाबारे स्थलगत जानकारी लिने क्रममा सिंहले सुनसरीका बर्जु गाउँपालिका, हरिनगरा, देवानगञ्ज र कोशी गाउँपालिका तथा सप्तरीका कञ्चनरूप, राजविराज, डाक्नेश्वरी नगरपालिका (पथरगाढा) र बोदेबर्साइनलगायतका क्षेत्रमा स्थानीय नेता-कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट गरेका छन्।
सिंहका स्वकीय सचिव रञ्जित झाका अनुसार पदयात्रा सुरु हुनुअघि हुलाकी राजमार्गको वास्तविक अवस्था, सम्भावित रुट तथा स्थानीयस्तरका समस्याबारे जानकारी लिन स्थलगत भ्रमण थालिएको हो।
सुनसरीबाट सुरु भएको यो पूर्वतयारी अभियान मधेस प्रदेशका हुलाकी राजमार्गसँग जोडिएका आठवटै जिल्लामा सञ्चालन गरिने झाले बताए। अभियानका क्रममा सम्बन्धित जिल्लाका नेता, कार्यकर्ता तथा स्थानीय सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरी पदयात्राको तयारी, रुट व्यवस्थापन तथा स्थानीय सरोकारका विषयमा छलफल भइरहेको उनले बताए।
‘५ घण्टा हिँड्ने, ७ घण्टा सुन्ने’ अभियान
मधेसमा व्याप्त गरिबी, अशिक्षा, भ्रष्टाचार तथा विकासका समस्यालाई नजिकबाट बुझ्ने उद्देश्यले पदयात्रा आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ। ‘५ घण्टा हिँड्ने, ७ घण्टा सुन्ने’ अवधारणासहित अघि बढाइने पदयात्रामा स्थानीय नागरिकका समस्या, अपेक्षा र गुनासो प्रत्यक्ष रूपमा सुन्ने लक्ष्य राखिएको छ।
पूर्वतयारीका क्रममा स्थानीय तहमा देखिएको उत्साह र सहभागिताले आफूहरूलाई थप ऊर्जा र हौसला प्रदान गरेको सिंहले बताएका छन्। उनले यो अभियान मधेसको रूपान्तरण र राष्ट्रिय समृद्धिको यात्रामा महत्वपूर्ण योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन्।
सिंहको पछिल्लो अभिव्यक्ति र मेची-महाकाली पदयात्राको तयारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी मधेसका आठवटै जिल्लामा हुलाकी राजमार्ग केन्द्रित प्रत्यक्ष जनसम्पर्क र संगठन विस्तारको अभियानले आगामी राजनीतिक गतिविधिका लागि रास्वपाले मधेसलाई दिएको प्राथमिकता संकेत गर्ने देखिन्छ।


