

भारत । भारतको गुजरातस्थित सुरेन्द्रनगरमा जिममा आउने महिलाको गोप्य रूपमा आपत्तिजनक तस्बिर तथा भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा जिमका व्यवस्थापक अमिन यासिनभाई मुलतानी पक्राउ परेका छन् ।
सुरेन्द्रनगरको ‘क्लब ७१’ जिममा महिलालाई ब्ल्याकमेल गर्ने, जबर्जस्ती सम्बन्धका लागि दबाब दिने तथा उनीहरूका निजी तस्बिर र भिडियो प्रयोग गर्ने गरिएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।



भारतीय सञ्चारमाध्यमका अनुसार एक महिलाले सुरेन्द्रनगरका प्रहरी अधिकारी प्रेमसुख डेलुलाई लिखित उजुरी दिएपछि घटनाबारे अनुसन्धान सुरु भएको थियो । उजुरीमा जिमको चेन्जिङ रुममा गोप्य क्यामेरा प्रयोग गरी महिलाका तस्बिर तथा भिडियो खिचिएको र त्यसैलाई आधार बनाएर ब्ल्याकमेल गर्ने आरोप लगाइएको थियो ।
उजुरीपछि प्रहरीले ग्राहक बनेर जिममा प्रवेश गरी छापा मारेको जनाइएको छ । छापाका क्रममा प्रहरीले चारवटा पेनड्राइभ, पाँचवटा मोबाइल फोन, सिमकार्ड, ब्लुटुथ उपकरण, एडाप्टर, खाली चेक तथा हिसाब–किताबका कापीलगायत सामग्री बरामद गरेको छ ।
प्रहरीका अनुसार बरामद पेनड्राइभमा करिब १०० देखि १५० वटा आपत्तिजनक तस्बिर तथा भिडियो फेला परेको दाबी गरिएको छ । तीमध्ये केही महिलाका नग्न तस्बिर तथा भिडियोसमेत रहेको प्रहरीको भनाइ छ ।
तर, प्रहरीले जिम वा चेन्जिङ रुममा लुकेको क्यामेरा भने फेला नपारेको स्पष्ट पारेको छ । बरामद डिजिटल सामग्री वास्तविक हो वा कृत्रिम बुद्धिमत्ता प्रविधिबाट तयार गरिएको हो भन्ने यकिन गर्न फरेन्सिक प्रयोगशालामा पठाइएको छ ।
घटनामा मुलतानीसँगै जिममा कार्यरत अर्का एक कर्मचारीलाई समेत प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरी अनुसन्धानका क्रममा जिमबाट खाली चेक तथा हिसाब–किताबका कापीसमेत बरामद भएपछि ब्याजमा रकम लगानी गर्ने तथा सम्भावित गैरकानुनी आर्थिक गतिविधिबारे समेत अनुसन्धान भइरहेको जनाइएको छ ।
सुरेन्द्रनगरमा क्लब ७१ का दुईवटा जिम सञ्चालनमा रहेको र तीमध्ये दुधरेज रोड तथा ८० फिट रोडस्थित जिममा प्रहरीले कारबाही गरेको जनाइएको छ । आवश्यक अनुमति तथा लाइसेन्सबिना सञ्चालन भएको भन्दै दुवै जिमलाई महानगरपालिकाका कर्मचारीको उपस्थितिमा सिल गरिएको बताइएको छ ।
प्रहरीले घटनासँग सम्बन्धित डिजिटल सामग्री तथा अन्य प्रमाणको फरेन्सिक परीक्षण र अनुसन्धान जारी राखेको छ । बरामद सामग्रीको परीक्षणपछि महिलाका तस्बिर तथा भिडियो कसरी प्राप्त भए, कसले खिच्यो वा संकलन गर्यो तथा ती सामग्री ब्ल्याकमेलमा प्रयोग भए–नभएकोबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ ।


