

सिरहा | सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतीय गाडीलाई विपरीत दिशाबाट आइरहेको टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका वडा नं ४ भुल्केमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मप्र ०१–००१ ज ०१२४ नम्बरको विद्युतीय (इभी) गाडीलाई विपरीत दिशाबाट आइरहेको मप्र ०३-००२ ख ३९९६ टिपरले ठक्कर दिँदा विद्युतीय गाडीमा सवार गोलबाजर नगरपालिका-४ की ४५ वर्षीया शोभाकुमारी गम्भीर घाइते भएकी थिइन्।



उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए। अहिले उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।
घाइतेमध्ये गम्भीर अवस्थाका २२ वर्षीया प्रियङ्का यादवलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत मेडिसिटी अस्पताल काठमाडौँ लगिएको जनाउँदै सूचना अधिकारी पालले अर्का घाइते गोलबजार-६ की ४५ वर्षीय ललिता महतोलाई थप उपचारका विराटनगर लगिएको बताए। ठक्कर दिने टिपरका चालक र टिपर प्रहरीको नियन्त्रणमा छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


