

काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी) बिक्री–वितरण गर्न अनुमति दिने तयारी भइरहेको बताएका छन्।
विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा सचिव तामाङले ग्यासको आपूर्तिमा असहज अवस्था उत्पन्न भएमा सुरक्षा निकायमार्फत समेत वितरणलाई सहज बनाउने गरी व्यवस्था गर्न लागिएको जानकारी दिए।



“अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री–वितरण गर्दै आइरहेका छन्,” उनले भने, “सुरक्षा निकायका आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा आपूर्ति व्यवस्थापनमा धेरै सहज हुनेछ।”
सचिव तामाङका अनुसार पेट्रोल बिक्री गर्ने सुरक्षा निकायका आउटलेटमध्ये कम्तीमा एक–दुई स्थानमा एलपिजी ग्यास बिक्रीको व्यवस्था गर्न सकिएमा आपत्कालीन अवस्थामा राज्यलाई सहज हुनेछ।
उनले सम्भावित ग्यास अभावलाई मध्यनजर गर्दै आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी तथा प्रबन्ध मिलाउन लागिएको बताए।
सरकारले एलपिजी ग्यासको आपूर्ति प्रणालीलाई थप सहज र व्यवस्थित बनाउन वैकल्पिक वितरण संयन्त्रको तयारी अघि बढाएको उनको भनाइ छ।


