वीरगंज । १६ वर्षीया किशोरीलाई प्रयोग गरी अमेरिकाबाट लागूऔषध कारोबार गरेको अभियोगमा पर्साकाे धोबिनी गाउँपालिका–५ का २७ वर्षीय फैजुल्लाह साहलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल कार्गो कम्प्लेक्समा आइतबार अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको अवैध लागूऔषध गाँजा २ किलोग्राम लिन गएकी किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा साह पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार किशोरीलाई साहले परिचालन गरी लागूऔषध कारोबार गरेको खुल्न आएको छ ।
‘कक्षा १२ को परीक्षा दिएर बसेकी किशोरी ‘जव सोलुसन एजेन्सी’मा रिसेप्सनको काम गर्थिन् । उनलाई कतैबाट कर्मचारी आवश्यकताको जानकारी आयो, एकजना मान्छेसमेत पठाइदिइन्,’ प्रहरी उपरीक्षक जोशीले भने, ‘केही दिनपछि फेरि त्यही व्यक्तिको फोन आयो र पहिला पठाएको मान्छेले राम्रोसँग काम नगरेको भन्दै ती किशोरी आफैलाई काममा आउन आग्रह गर्यो । थोरै तलबमा रिसेप्सनको काम गरिरहेकी किशोरीलाई २० हजार रुपैयाँ तलबको प्रस्ताव आएपछि जान तयार भइन् ।’
उनको काम भने विदेशबाट आएको सामान (चकलेट, सजावटका सामान, खेलौना र कपडा) एयरपोर्टको कार्गो कम्प्लेक्सबाट बुझेर ल्याउने मात्र हो । उक्त कामको लागि साहले ती किशोरीको परिचयपत्र बनाउन नागरिकता फोटोकपी मागे र सोहीबमोजिम नागरिकताको फोटोकपी बुझाइन् । पक्राउ परेका साहले ती किशोरीको नागरिकताको फोटोकपी भने भारत हुँदै अमेरिका पठाएको र सोही नाममा अमेरिकाबाट कपडाहरुभित्र लुकाई अवैध लागूऔषध गाँजा मगाएको पाइएको छ । साहले मगाएको लागूऔषध गाँजा लिन कार्गो कम्प्लेक्स गएकी किशोरी गाँजासहित पक्राउ परेपछि घटनाको यथार्थ प्रस्ट भएको प्रहरी उपरीक्षक जोशी बताउँछन् । साहले किशोरीलाई गाँजा रिसिभका लागि २ हजार रुपैयाँ ट्याक्सी भाडा दिएर पठाएका थिए ।