
वीरगञ्ज । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, पर्साले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ। वीरगञ्ज महानगरपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरूमध्ये प्रत्येक विद्यालयबाट सर्वोत्कृष्ट जीपीए प्राप्त गर्ने २२ जना छात्र–छात्रालाई शनिबार वीरगञ्जस्थित पब्लिक कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो।
प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शैक्षिक सहिद मुकुन्द प्रसाद खनालकी धर्मपत्नी इन्दिरा देवी खनाल, छोरी ममता खनाल, ज्वाइँ शैलेश रेग्मी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी, वरिष्ठ उपाध्यक्ष सुशीला साह, सचिव अशोक संग्रौला, लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर रामबिहारी पाण्डे, प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक सरदार जसपाल सिंह, सचिव अभिनाश झा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आनन्द लामिछानेले शिक्षा राष्ट्र विकासको मेरुदण्ड भएको उल्लेख गर्दै विद्यार्थीहरू भविष्यका कर्णधार भएको बताए। उनले सामुदायिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेर वीरगञ्जलाई शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले विद्यार्थीहरूको सम्मान महानगरपालिकाले गर्नुपर्ने दायित्व भए पनि प्रतिष्ठानले उक्त कार्य गरेकोमा खुसी व्यक्त गर्दै आगामी वर्षदेखि यस्ता उत्कृष्ट विद्यार्थीलाई महानगरपालिकाले नै सम्मान गर्ने प्रतिबद्धता जनाए। साथै उनले विद्यार्थीहरूलाई प्राप्त सम्मानलाई प्रेरणाको रूपमा ग्रहण गर्दै आगामी अध्ययनमा अझ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे।
कार्यक्रममा सम्मानित विद्यार्थीहरूलाई प्रमुख अतिथि, अध्यक्ष तथा विशिष्ट अतिथिहरूले अबिरको टीका, खादा, कदरपत्र तथा जनही नगद रु. १ हजार ५ सय प्रदान गरी सम्मान गरेका थिए।
सम्मानित हुने विद्यार्थीहरूमा निशा पटेल, किरण कुमारी साह, सादिया खातुन, रोशनी कुमारी डोमिन, रागनी कुमारी कानु, मोहम्मद उमर फारुक, साहिल मियाँ, समिर कुमार कर्ण, अनुज्ञा श्रीवास्तव, सपना सोनार, अनिसा पण्डित, सुजाता कुशवाहा, अब्दुल अजिज, किरण कुमारी पटेल, अंकिता कुमारी, कुमकुम कुमारी कुशवाहा, विध्या कुमारी, अञ्जली कुमारी, पूजा कुमारी पटेल, सुरज कुमार, राजकरण ठाकुर लोहार तथा सन्दर्भ माली रहेका छन्। कार्यक्रमका संयोजक प्रभु रौनियारले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रतिष्ठानका सल्लाहकार प्रकाश उपाध्यायले प्रतिष्ठानको उद्देश्य र गतिविधिबारे जानकारी गराएका थिए। कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव लालबाबु सिंहले गरेका थिए। प्रतिष्ठानले विद्यार्थीहरूको प्रतिभा र उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ।
