वीरगंज | नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग भेट गरेका छन्। यो भेट माघ ३० देखि फागुन १ गतेसम्म भएको १२औँ महाधिवेशनले निर्वाचित नयाँ कार्यसमितिले मङ्गलवार मन्त्रालयमा गरेको हो।
निजामती कर्मचारी सङ्गठनका नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहित अन्य पदाधिकारी र सदस्यहरूले मन्त्री गुप्तालाई भेटेका थिए। भेटघाटका क्रममा मन्त्री गुप्ताले संगठनको महिला नेतृत्व चयन गरेर इतिहास रचेकामा खुसी व्यक्त गरे र नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन्। उनले कार्यकाल सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
भेटमा, नवनिर्वाचित अध्यक्ष भवानी दाहालले मन्त्री गुप्तासँग एक महत्वपूर्ण विषयमा आग्रह गर्दै उच्च अदालत पाटनको फैसलाबमोजिम रिक्त रहेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह र राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतको ४२६ पद सङ्ख्या कायम गरेर पुनः विज्ञापन गर्ने पहल गरिदिनको लागि अनुरोध गरिन्।
नेपाल निजामती कर्मचारी सङ्गठन, जसले नेकपा एमालेसँग सहकार्य गर्दै कर्मचारीहरूको हकहितको संरक्षण गर्दै आएको छ, हालै सम्पन्न महाधिवेशनमा दाहालको नेतृत्वमा ऐतिहासिक कार्यसमिति निर्वाचित भएको हो।