वीरगंज । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नव गठित मन्त्रिपरिषद्मा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भन्दा एमालेका सचिव रघुबीर महासेठ वरीयता क्रममा माथि पारिएको छ ।
बुधबार गठित २० सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री प्रचण्डपछिको दोस्रो वरीयतामा एमालेका सचिव रघुवीर महासेठ छन्। उनले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्। रघुवीर भन्दा पछिको तेस्रो वरीयातामा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन्। उनले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
यसअघि कांग्रेससँगको गठबन्धनमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएका श्रेष्ठ त्यतिबेला पनि वरीयताक्रममा तेस्रो नम्बरमा थिए। श्रेष्ठअघि वरीयताक्रममा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का थिए। खड्का उपप्रधानमन्त्रीसहित रक्षामन्त्री थिए।
त्यसभन्दा अघिको एमालेसहितको गठबन्धनमा पनि श्रेष्ठ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल भन्दा पछि परेको भन्दै झण्डै शसपथ ग्रहण बहिस्कार गरेका थिए । तर यसपटक भने श्रेष्ठले तेस्रो बरियता सहजै स्वीकार गरेको देखिएको छ ।