परवानीपुर | १४४औं विश्व नारी दिवस मार्च ८ तारिख महाशिवरात्रिको दिन परेकोले एक साता अघि कार्यक्रम गरी वीरगंजमा नारी दिवस मनाइएको छ । निशा दे दबु पर्सा (नेवार महिला राष्ट्रिय सङ्गठन)द्वारा वीरगंजमा आयोजित कार्यक्रममा समाज उत्थानको क्षेत्रमा अहम् योगदान पु-याएका चारजना महिलालाई सम्मानित गरिएको छ ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी, नर्स हेमा थापा, शान्ति अमात्य र जागृत विकास मञ्चकी संस्थापक अध्यक्ष सरस्वती शाक्यलाई सम्मानित गरिएको हो । कार्यक्रममा वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले समाज विकासमा महिलाको भूमिका अहम् भएको र राम्रा मानिसको सम्मानले समाजमा सकारात्मक सन्देश जाने बताए । उनले प्रअम चौधरीको आँट र सङ्घर्षको सराहना गरे ।
उनले प्रअम चौधरीले पर्साको नाम देश–विदेशमा राखेको पनि चर्चा गरे । आयोजक संस्थाकी अध्यक्ष मीरा प्रधानको सभापतित्वमा भएको कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्य, नेवा पुचः वीरगंज (नेवार समाज वीरगंज)का अध्यक्ष हरि वैद्य, नेवा दे दबुः वीरगंजका अध्यक्ष सत्यम खड्कीलगायतको सहभागिता थियो । कार्यक्रममा अमृता वैद्यले स्वागत मन्तव्य र मुस्कान श्रेष्ठले सहजीकरणमा गरेका थिए ।