वीरगंज । रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर ४ पतौरामा दाइजोका लागि डब्बल मर्डर भएको छ । आमा र अवोध छोरीको हत्यापछि परिवारका सदस्यहरु फरार भएका छन् । पतौरामा शुक्रबार राति आमा र छोरी घरमा मृत फेला परेका छन् । पतौरा गाउँकी २४ वर्षीया कविता देवी साह र उनकी २० महिनाकी छोरी आरुही राति घरमै मृत अवस्थामा भेटिएकी छन् । अवोध बालिकालाई सिलिंग पंखामा झुण्डयाएर हत्या गरिएको र कविता देवीलाई घरमा बन्द गरी जलाएर हत्या गर्ने प्रयास गरिएको स्थानीयहरुले जनाएका छन् । मृतक कविताको टाउकोको अगाडिको भाग फुटेको छ । हात र खुट्टा जलेको छ । तर उनले लगाएकी लुगा(मेक्सी)मा आगोले छोएको छैन् । प्रहरीका अनुसार कविताको लुगा राखिएको ट्रंकको ढक्कन खोलिएर कपडामा आगो लगाइएको छ ।मृतक कविताको छाला आगोको तापले सिकुरेको प्रहरीस्रोतले जनाएका छन् । प्रहरी स्रोतका अनुसार बालिकालाई हत्या गरी पंखामा झुण्डयाइएको र आमालाई घरभित्रै आगोमा जलाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आरुहीको शव पंखामा झुण्डिएको र कविताको शव घरबाट बाहिरिने सिँढीमुनिको बरण्डामा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकरप्रसाद यादवले बताएका छन् ।
मृतक कविता देवी साहलाई घरबाट घिसारेर बाहिर ल्याइएको र आरुहीको शव पंखामा नै झुण्डिएको अवस्थामा छाडिएको थियो । उनका अनुसार मृतक कविताका पति धीरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन् । कविताकी सासु मैना देवी र जेठानी निशा देवी लाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । घटना पश्चात मृतकका श्रीमान धीरेन्द्र साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारकासदस्यहरु फरार भएका छन् । ‘मृतकका जेठानी र सासुलाई सोधपुछका लागि ल्याएका छौं,’ डीएसपी यादवले भने, ‘मृतकका श्रीमान् अहिलेसम्म फेला परेका छैनन्, उनको खोजतलास गर्दैछौं ।’‘घटनाका बारेमा तत्कालै केही भन्ने अवस्था छैन्’ उनले भने,अनुसन्धानपछि विस्तृत जानकारी प्राप्त हुनेछ । तीन वर्षअघि विवाह गरेकी कवितालाई उनका श्रीमानले पटक–पटक दाइजोका लागि यातना दिने गरेको उनका पिता विजयशंकर साहले बताए । ‘बिहे भएपछि दाइजोका लागि मेरी छोरीलाई चरम यातना दिने गरिएको थियो’ साहले भने, अन्ततः छोरी र नातिनीको हत्या नै गरिएको छ । ‘बिहेपछि दाइजोमा सुनको औठी र सिक्री दिन सकिएको थिएन’साहले भने,ज्वाइँ धीरेन्द्रले धेरै पटक छोरीलाई यो विषयमा कुटपिट गरेको थियो । आखिरमा दाइजोकै लागि छोरी र नातिनीको हत्या गरेर ज्वाइँ र सम्धी फरार भएका छन् । घटनाको निष्पक्ष छानबिन गर्दै अपराधिहरुलाई कडा सजाय दिनुपर्ने उनले माग गरेका छन् ।
रौतहट जिल्लाकै माधवनारायण नगरपालिकाको वडा नम्बर ५ मिठुअवा गाउँमा कविताको माइती हो । घटनाबारे स्थानीयहरुले जानकारी दिएपछि मृतकका पिता विजयशंकर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर आएको बताए । तर मृतक छोरी र नातिनीको शव धेरै बेरपछि मात्र हेर्न पाएको दुखेसो पोखे । छोरीलाई ज्वाइँले पटक पटक कुटपिट गर्दै अनेक प्रकारको यातना दिने गरेको आरोप उनले लगाएका छन् । ‘बेलाबेलामा कविताले ज्वाइँ धीरेन्द्र साहले नगद, पलङ, सुनको आँैठी र सिक्री माग्ने गरेको बताउने गरेकी थिइन् ’ उनले भने, दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको छ । अबेर रातिसम्म शवको पोष्टमार्टम हुन सकेको छैन् । आमा छोरीको शव प्रादेशिक अस्पतालमा राखिएको छ । मृतकका श्रीमान, ससुरा लगायत परिवारका अधिकांश पुरुष सदस्य फरार रहेका र सासु, जेठानी पक्राउ परेकाले पोष्टमार्टमका लागि कानुनी प्रक्रियामा समस्या देखिएको बताइएको छ । कविताकी वृद्ध हजुरआमा सासु भने घरमा नै रहेकी छन् । मृतकका पिता साह भने अस्पतालमै रहेका छन् । आमा र छोरीको हत्याको खबरले कविताको माइतीमा शोक छाएको छ ।विजय शंकरको ५ छोरी मध्ये कविता चौथो नम्बरमा थिइन् ।