सप्तरी । कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा अदालतबाट २० वर्ष कैद सजाय तोकिएपछि फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बलान बिहुल गाउँपालिका ३ बस्ने ५४ वर्षिय लक्ष्मण भन्ने धनीलाल साह तेली छन् ।
प्रहरीका अनुसार घरमै लुकिबसेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको टोलीले अघिल्लो दिन शनिबार साँझ उनलाई पक्राउ गरेको हो ।
आइतबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएका साहलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए ।
प्रहरीका अनुसार २०५७ साल साउन ३ गते राती १२ बजेतिर सोही वडा निवासी दशरथ साहको खुकुरी तथा लाठी फट्टाले आक्रमण गरि हत्या गरेको आरोपमा उनीमाथी कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दा चलाइएको थियो । घटना लगत्तै साह फरार भएका थिए ।
पिसाब गर्न घर बाहिर निस्केका बेला पुराना रिसिइबी साध्न दशरथको हत्या भएको ठहर गर्दै दायर गरिएको मुद्धामा सुनुवाई गर्दै २०६५ चैत ११ गते सप्तरी जिल्ला अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
सोही मुद्धामा तत्कालिन पुनरावेदन अदालत राजविराजले २०६७ साल चैत २२ गते तथा २०७२ साल माघ १ गते सर्वोच्च अदालत समेतले जिल्ला अदालतको सदर गर्दै २० वर्ष कैद सजाय हुने ठहर गरेको थियो ।