वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान अबको तीन दिनभित्र सकिने जनाएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको नियमित लाइभ अपडेट मार्फत पहिलो चरणको खोप अभियान अबको तीनदिनमा पुरा हुने बताएका हुन्।
मन्त्रालयले खोपको उपलब्धताको आधारमा पहिलो चरणमा ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाइने जनाएको थियो।
उनले स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयं सेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, अन्तराष्ट्रिय नाकामा कार्यरत कर्मचारी, वृद्धाआश्रममा बस्ने व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले खोप अभियान सुरु गरेको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार माघ १४ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत हालसम्म १ लाख ३५ हजार १३ जना स्वास्थ्यकर्मीले कोभिड–१९ विरुद्धको कोभिसिल्ड भ्याक्सिन लगाएका छन्।
डा गौतमका अनुसार दुर्गममा रहेका स्वास्थ्यकर्मी, अन्तराष्ट्रिय नाकामा रहेका कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई अबको तीन दिनभित्र खोप लगाइने बताए।
उनले लक्षित समुहहरुले खोप लगाउने समयसिमाभित्र खोप लगाउन छुटेको भए सम्बन्धित कार्यालयको सिफरिस पत्र र स्वास्थ्यकर्मीको हकमा परिषद्को दर्ता प्रमाणपत्र सहित जिल्ला स्वास्थ्य कार्यालयमा पुगेर खोप लगाउन सकिने पनि बताए।
उनले पहिलो चरणमा खोप लगाउन छुटेका लक्षित समुहका व्यक्तिले पछि उमेर समुह अनुसारको पालो अनुसार खोप सेवा लिन सकिने बताए।