पर्सा | २ हजार ७ सय पिस लागुऔषधसहित पर्सा र रौतहटबाट तीनजना पक्राउ परेका छन्।अटोमा लुकाई लागुऔषध ल्याउदै गरेको अवस्थामा ६ सय एम्पुल लागुऔषधसहित पर्सा प्रहरीले पोखरिया नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अटो चालक पकहामैनपुर गाउँपालिका १ धोरे बस्ने २८ बर्षिय जलान्धर दास र अटोमा सवार सोही ठाउँका २० वर्षीय जय प्रकाश मेहता रहेका छन्।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले ना १ ह ४६४४ नम्बरको अटोलाई चेकजाँच गर्नेक्रममा अटोमा पिठोको बोरा र कपडाको झोलामा लुकाई ल्याउदै गरेको अवस्थामा दुबैजनालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।यस्तै रौतहटबाट २ हजार २ सय पीस लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषधसहित पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका ४ बस्ने २७ बर्षिय शेर बहादुर कुश्वार रहेका छन्।
इलाका प्रहरी कार्यालय चपुर र लागू औषध नियन्त्रण व्यूरो, वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने मंगलपुर चोकमा चेकजाँच गर्नेक्रममा कुशवारलाई लागुऔषधसहित पक्राउ गरेको हो।
कुश्वारले चलाएको बा ९३ प ८६१ नम्बरको मोटर साईकललाई चेकजाँच गर्दा उनले लगाएको ज्याकेट भित्र लुकाई छिपाई ल्याएको सात वटा प्याकेटमा रहेका २ हजार १ सय पिस लागुऔषध निट्राभेट टयाब्लेट बरामद गरिएको रौतहटका प्रहरी प्रबक्ता एवम प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए। पक्राउ परेका कुशवारलाई अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अघि बढाइएको श्रेष्ठले बताए।