वीरगंज | बुधबार बिहान टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालमा कोरोनाविरुद्धको खोप शुभारम्भ हुन करिब १० मिनेट बाँकी थियो । अस्पताल परिसरमा खोप लगाउने स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै अन्य कर्मचारीको संख्याभन्दा पनि पत्रकारको ठूलो जमात थियो । प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट खोप कार्यक्रमको उदघाटन गरेपछि अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले कोरोनाभाइस कोभिड—१९ विरुद्धको खोप लगाएर शुभारम्भ गरे ।
खोप लगाएर निर्देशक राजभण्डारीले सञ्चारमाध्यमहरुलाई हात हल्लाइरहँदा पत्रकार र स्वास्थ्यकर्मी र कर्मचारीको भिड्मा अस्पतालका केही नर्स तथा सफाइकर्मी कानेखुशी गर्दै थिए, उनीहरु ‘भो खोप त नलगाऔँ, खोपले उल्टै असर ग¥यो भने ?’ भन्दै खोपप्रति आशंका व्यक्त गरिरहेको थिए । सँगै समूहमा बस्नेमध्ये एकजना कर्मचारी भन्दै थिइन्, ‘खोप कार्यक्रम १० दिनसम्म चल्छ, खोप लगाउनेहरुमा केही असर देखिन्छ कि देखिँदैन, उनीहरुको प्रक्रिया बुझेर मात्रै कोरोनाविरुद्धको खोप लगाउनुपर्ला ।’
अस्पतालका कार्यालय सहयोगी लालबहादुर वाइवा पनि बुधबार खोप नलगाउने सोचमा थिए । जब अस्पतालका निर्देशक राजभण्डारी, अग्रमोर्चामा खटिएर संक्रमितको उपचार संलग्न डा. अनुप बाँस्तोलासँगै टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले खोप लगाए, तब उनको मनमा उठेको प्रश्नको जवाफ आफै मिल्यो । ज्येष्ठ नागरिक रेडियोलोजिष्ट अमात्य र उपचारमा संलग्न स्वास्थ्यकर्मीले धमाधम खोप लगाउन थालेपछि वाइवाको मनमा उठेका शंकाहरु निवारण भयो, उनी खोपका बारेमा ढुक्क बने । क्लिनिकल ट्रायलको क्रममा रहेको खोपप्रति कुनै शंका, डर नमानिकन अग्रजहरुले लगाएपछि आफूले पनि ढुक्क भएर खोप लगाएको उनले सुनाए ।
कोरोना पहिचान, नियन्त्रण र उपचार व्यवस्थापमा खटिने धेरै स्वास्थ्यकर्मीसँगै कर्मचारीहरुमा खोप लगाउने कि नलगाउने भनेर दोधार रहेको डा. बाँस्तोला बताउँछन् । त्यही भएर कतिले पहिलो दिनमै नाम रजिष्टर नगरेको डा. बाँस्तोलाको अनुभूति छ । टेकु अस्पतालले पहिला सफाइकर्मीबाट खोप अभियान शुभारम्भ गर्ने योजना बनाएपनि खोपका बारेमा स्वास्थ्यकर्मी नै दुविधा रहेको पाएपछि अस्पतालका निर्देशक, चिकित्साकर्मी तथा अन्य स्वास्थ्यकर्मीबाट अभियान सुरु गरिएको हो ।
महामारीमा अग्रपङ्तिमा खटिएर काम गरिरहेकाले कोरोनाविरुद्धको खोप ढुक्क भएर लगाएको उनले सुनाउँदै खोपप्रति अनावश्यक शंका–उपशंका नगर्न डा. बाँस्तोला आग्रह गर्छन् । खोप लगाएपछि २४ घण्टासम्म केही असर देखिएमा सबैलाई बताउने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘चिसोमा मौसमी रुघाँखोकीको लाग्छ, कोरोनाको त्रास छ भन्दै स्वास्थ्यकर्मीसँग सल्लाह नगरिकन फ्लूको खोप धमाधम लगाएका छन्, त्यस खोपको प्रभावकारिता ४० देखि ६० प्रतिशत मात्रै हुन्छ तर, चर्चापरिचर्चा हुँदैन,’ उनले भने, ‘कोभिशिल्डको खोपको प्रभावकारिता ६२ देखि ९० प्रतिशत हुने अध्ययनले देखाएको छ, कोभिशिल्ड खोपको बारेमा जतिपनि भ्रमहरु छन् त्यसलाई चिर्नै पर्छ ।’
विगत एकवर्षदेखि महामारीसँग सारा विश्व दिनरात लडिरहँदा पनि कोरोनाभाइरसको संक्रमण अझैँ अन्त्य भएको छैन । अमेरिका बेलायत लगायतका राष्ट्रमा कोरोनाको नयाँ प्रजाती फैलिने क्रम बढ्दो छ । नयाँ प्रजातिको भाइरस नेपालमा नभित्रिएला भन्न नसकिने भएकाले कोरोना संक्रमणको पहिचान, नियन्त्रण र उपचारमा खटिने, पहिलो प्रथमिकतामा परेकाहरुले खोप लगाउन अति आवश्यक रहेको डा. बाँस्तोला ठान्छन् ।
‘कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोप लगाउन अग्रमोर्चामा खटिने केही स्वास्थ्यकर्मी, सफाइकर्मी तथा अन्य कर्मचारी दुविधामा परे त ?,’ रातोपाटीले जिज्ञासा राखेको थियो । त्यसबारे प्रष्ट पार्दै डा. बाँस्तोला गत एक वर्षदेखि टेकु अस्पतालमा कोभिड बिरामीको उपचार र पहिचानमा संलग्न भएका स्वास्थ्यकर्मी, सफाइकर्मी र अन्य कर्मचारीमध्ये थोरै मात्रै संक्रमित भएको र संक्रमित भएका मध्ये कसैलाई पनि कडा खालको लक्षण नदेखिकन कोरोनामुक्त भएका कारण पनि खोप लगाउन दोधारमा परेको बताउँछन् ।
खासमा ‘उपचार, पहिचान, नियन्त्रण र व्यवस्थापनमा खटिदा जनस्वास्थ्यका मापदण्ड कडाइका पालना गरेले टेकु अस्पतालमा संक्रमण फैलिन नपाएको’ उनको भनाइ छ । त्यसैले संक्रमित नभएका केही सफाइकर्मी, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु ‘अहिलेसम्म सुरक्षित छौँ नलगाए पनि हुँदैन र भनेर पनि दोधारमा परेको’ डा. बाँस्तोला बताउँछन् । त्यसमाथि थप कोभिशिल्ड खोपको बारेमा फैलिएका केही नकारात्मक भ्रमको कारण पनि केही त्रसित र दुविधामा परेका उनले सुनाए ।
‘कोरोनाविरुद्धको कोभिशिल्ड खोप अभियान शुभारम्भमा धेरै जनाले खोप लगाएका छौँ,’ उनले भने, ‘दशदिनको अवधिमा खोपकोे बारेमा पैदा भएका दुविधाहरु हटेर जाने तथा अहिले खोप नलगाउनेहरुले पनि खोप लगाउने विश्वास बाँस्कोटाको छ । ‘कोरोना लडाइँका क्रममा नयाँ युग सुरु भएको, खोपका विरुद्धमा चलेका नकारात्मक हल्लामा सत्यता नरहेकोले हाल प्राथमिकतामा परेका सबैले ढुक्क भएर खोप लगाउन उनी आह्वानसमेत गर्छन् ।
पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने व्यक्ति तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारमा तथा खोप व्यवस्थापनमा संलग्न अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।
कस्ता व्यक्तिले खोप लगाउनु हुँदैन ?
१८ वर्षभन्दा माथि उमेरका, रक्तश्राव हुने, खोपको पहिलो खुराक (डोज लिएपछि) गम्भीर एलर्जी (एनाफाइलेक्सिस) देखिएका, खोप लगाएको ठाउँमा लगातार दुख्ने, सक्रिय संक्रमित भएका कोभिड बिरामी, प्लाज्माथेरापी गरेका अवा अन्य कुनै गम्भीर बिरामी भएकाहरुले खोप लगाउन नहुने अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डरीले बताए ।