वीरगंज | नेपालमा एकैदिन चार हजार तीन सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । परीक्षण दरलाई पनि बिहीबार ह्वात्तै बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा १८ हजार चार सय ७३ वटा नमुना परीक्षण गरिएको छ ।
परीक्षणको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निको भएका ७१ ह्जार तीन सय ३४ जनासहित हालसम्म संक्रमित संख्या ९८ हजार ६ सय १७ पुगेको छ । देशभर पाँच सय ९० जनाको मृत्यु भएको पनि प्रवक्ता गौतमले बताए ।
बिहीबार मात्रै १२ जनाको मृत्यु भएको बताइएको छ । कोरोना पुष्टि भएकामध्ये धेरैजसो काठमाडौं उपत्यकाभित्रका छन् । सरकारी तथ्यांकअनुसार बिहीबार पुष्टि भएकामध्ये २५ सय ४० उपत्यकाका छन् । तीमध्ये काठमाडौंमा दुई हजार ८५, ललितपुरमा तीन सय २० र भक्तपुरमा एक सय ३५ जना छन् । २४ घन्टामा मृत्यु हुने १२ जना सुनसरी, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की र सुर्खेतका छन् ।