वीरगंज | प्रदेश २ मा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४६ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ९५ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए।
आज सबैभन्दा बढी रौतहटमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै सर्लाहीमा १३, पर्सामा १२, धनुषामा १०, सप्तरीमा ९, सिरहामा ९, बारामा ६ र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमणबाट प्रदेश २ मा शुक्रबार एकजनाको मृत्यु भएको छ। पर्सा जिल्लाको पोखरी नगरपालिका वडा नं. १ अंकटवा टोलका ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। यससँगै प्रदेशभर मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ।
हालसम्म प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै सर्लाहीमा १ हजार ९ सय १, धनुषामा १ हजार ८ सय ९८, रौतहटमा १ हजार ८ सय ८५, महोत्तरीमा १ हजार ४ सय २०, बारामा १ हजार २ सय ५२, सप्तरीमा १ हजार २ सय ९ र सिरहामा १ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ।
त्यस्तै आज यस प्रदेशमा २ सय ४३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। आज ४५ महिला र १ सय ९८ पुरुष डिस्चार्ज भएका छन्। यससँगै कोरोनाबाट निको हुनेको संख्या ७ हजार ४ सय ५६ पुगेको छ।
आज पर्सामा १ सय ७७ जना डिस्चार्ज भएका छन्। त्यस्तै सप्तरीमा ४२, रौतहटमा १३, सिरहामा ११ जना निको भएर डिस्चार्ज भएका छन्। प्रदेशमा हाल ५ हजार ६ सय ६५ जना सक्रिय संक्रमित रहेका छन्।