वीरगञ्ज । नेपालको संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउँदै आएको जनता समजावादी पार्टीले वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ ।
जसपाको केन्द्रिय पदाधिकारी बैठकको निर्णय बमोजिम जसपा पर्साले असोज ३ अर्थात नेपालमा संविधान जारी भएको दिनमा विरोध स्वरूप वीरगञ्जको घण्टाघरमा संविधान अपूर्ण रहेको भन्दै विरोध कार्यक्रम गरेको हो ।
पार्टीले अपूर्ण संविधानको विरोध घण्टाघरबाट आज दिउँसो विरोध र्याली समेत निकालेको थियो । जसपाका नेता रामनरेश यादव र जगदीश पटेलको नेतृत्वमा घण्टाघरबाट शुरु विरोध र्याली माईस्थान, आदर्शनगर, घडिअर्वा गरेर नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।
र्याली पश्चात आयोजित विरोध सभालाई सम्बोधन गर्दै तत्कालिन समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष तथा जसपा नेता रामनरेश यादवले संविधानले मधेसीलाई केही अधिकार मात्र दिएको बताए ।
उनले आफुलाई मधेसी भनाउने केही मानिस जो सत्तासिन दलसँग मिलेका छन् तिनैका कारण आज अधुरो संविधानको विरोध गर्नु परेको यादवको आरोप छ । हिमाल, पहाड र तराईको पार्टीको रुपमा जनता समाजवादी पार्टीको जन्म भएको भन्दै उनले आगामी दिनमा जसपाको भविष्य उज्जवल रहेको दाबी गरे । जसपाले नै अपूरो संविधानलाई पूर्ण बनाउने उनको भनाई थियो ।
सो विरोध सभालाई सम्बोधन गर्दै जसपा नेता तथा सांसद लक्ष्मणलाल कर्णले संविधानमा मधेसी, जनजाति, दलितलगायतका बहिस्कृत समुदायको अधिकार नसमेटिएको बताए ।
हालको संविधानले अन्तरिम संविधानले दिएको अधिकार समेत खोसेको उनको भनाई छ । संविधान जारी भएपछि शुरु भएको ६ महिना लामो शान्तिपूर्ण अदभुत आन्दोलनबाट पनि अपूरो संविधानलाई पूर्ण बनाउन कुनै चासो राज्यले नदिएको उनको आरोप छ ।
विरोध कार्यक्रममा नेजामुद्दिन समानी, सुन्दर कुर्मी, तबरेज अहमद, बासुदेव यादव, ईश्वर यादव, रबदुला खान, अंशु साह कानु, रुस्तम शेख, मनमोहन पाण्डे, राष्ट्रिय विद्यार्थी संगठनका महासचिव ओमलोक पटेललगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।