विराटनगर । कोभिड १९ सँग मिल्दो लक्षण भएका अर्का एक बिरामीको कोसी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका अनुसार विराटनगर ९ बाट ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या भई ल्याइएका व्यक्तिको शुक्रबार बिहान मृत्यु भएको हो ।
परिवारले अस्पताललाई दिएको जानकारी अनुसार ५८ वर्षीय पुरुषमा एक सातादेखि हलुका ज्वरोको लक्षण थियो । तर, बिहान एक्कासि श्वास फेर्न कठिन भएपछि कोसी अस्पताल लगिएको थियो ।
कोसी अस्पताल आइसोलेसनका इन्चार्ज डा. लक्ष्मीनारायण यादवले भने, “अस्पताल ल्याई पुग्दा उहाँको मृत्यु भइसकेको थियो । तर, कोरोनासँग मिले लक्षणहरु देखिएकाले हामीले स्वाब संकलन गरेर परीक्षणमा पठाएका छौं ।” कोसीको आइसोलेसनमा दुई दिनअघि पनि दुई पुरुषको मृत्यु भएको थियो । उनीहरुमा पछि कोरोना पुष्टि भएको थियो