वीरगंज : पर्सामा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवती रहेकी छन्।सोमबार राति पटकपटक बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा लैजादै गर्दा उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन्।
उनको शव नेशनल मेडिकल कलेजमै राखेर आकस्मिक स्वाब संकलन गरी मंगलवार नारायणी अस्पतालमा पठाइएको थियो। राति उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका फिजिसियन एवं गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिहले बताए।
युवतीको स्वाब रिपोर्ट पोजिटिभ आए तापनि उनको मृत्युको घटना शंकास्पद देखिएको बताइएको छ। युवतीको घर पोखरीया ८ जगतपुर भएको र अविवाहित भए पनि गर्भवती भएको परिवारजनले थाहा पाएको बताइएको छ। सोही कारण उनको हत्या भएको पनि हुन सक्ने आशंका गरिएको छ।यवतीको शवको पोस्टमार्टम गरी सत्य पत्ता लगाएर मात्र शवको अन्त्येष्टि गर्न स्थानीयले प्रहरी प्रशासनसँग माग गरेका छन्।