वीरगंज | लगातारको वर्षाले पहिरो जाँदा देशका प्रमुख राजमार्गहरु अवरुद्ध भएका छन्। सडक विभागका अनुसार मदन भण्डारी राजमार्ग अन्तर्गत मुग्लिङ्ग-नारायणगढ सडक खण्ड र सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेनमा पहिरो गएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो भन्न ठाउँमा ५ साउन बिहान पहिरो खसेको हो। यसअघि पनि उक्त ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
त्यसैगरी सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्ड पुन अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन नगरपालिका ८ गौंडेपुल नजिक पहिरो गएको छ।
त्यही ठाउँमा तीन दिनअघि पनि पहिरो गएको थियो। उक्त पहिरो दुई दिन लगाएर हटाइएको थियो। आइतबार साँझदेखि एकतर्फी सवारी साधन चल्न थालेका थिए। तर, ४ साउन साँझ ८ बजेतिर पुनः पहिरो गएर सडक बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरिका अनुसार अहिले बिहानबाट पहिरो हटाउन सुरु भएको छ।