कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थामा फेला परेको छ ।“सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ”, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भार कार्य नहुँदा ढलेको छ ।”
बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ ढलेको अवस्थमा फेला परेकोबारे जानकारी गराइएको उनले बताए । सीमास्तम्भ मर्मतको कार्य हुँदै गर्दा कारोना भाइरसका कारण बन्दाबन्दी भएपछि रोकिएको थियो । सीमास्तम्भ मर्मतकार्यका लागि जोर भारतले विजोर नेपालले मर्मत गर्दै आएका थिए ।
नहरमा डुबेर बालिका बेपत्ता
कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनार बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी छन् । नहरमा पौडी खेल्ने क्रममा नेहा डुबेर बेपत्ता भएकी हुन् । नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको बताए ।नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उनले बताए । खोजीकार्य जारी रहे पनि बालिका अहिलेसम्म फेला पर्न सकेकी छैनन् ।