गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकाको टोली घान्द्रुकमा
वीरगंज संजाल
६ आश्विन २०७६, सोमबार ०७:४९
४२०३
चिप्लेढुंगा । गुरुङ जातिको संस्कृति अध्ययनका लागि संयुक्त गुरुङ समाज अमेरिकाको टोली घान्द्रुक आइपुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतिका बारेमा खोज, अध्ययन र अनुसन्धानका लागि संयुक्त गुरुङ समाज अमेरिकाको पाँच सदस्यीय टोली गुरुङ जातिको बाहुल्य रहेको स्थल घान्द्रुक पुगेको हो ।
घान्द्रुक पुगेको टोलीले त्यहाँ रहेको गुरुङ जातिको पच्यु, घ्याप्री खेगीहरुसँग अन्तरक्रियासमेत गरेको छ । अन्तरक्रिया कार्यक्रममा पच्यु खेगी गुरु चित्रबहादुर गुरुङले हालसम्म गुरुङहरुको मौलिक भाषा, धर्म, संस्कार संस्कृतिका बारेमा कोही कसैले चासो नदिइरहेको बेला अमेरिकामा बसोवास गर्ने गुरुङहरुले यसका बारेमा चासो देखाएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।
गुरुङ जातिको मुख्य धर्म बोन धर्म रहेको बताउँदै गुरुङले गुरुङ जातिको हरेक संस्कारमा वोन्पोलम, पच्यु, घ्याप्री र खेगीहरुद्वारा पूजाआजा गरिने बताउनुभयो । घ्याप्री खेगीका तर्फबाट बोल्दै खेगी आसबहादुर गुरुङले पच्यु र घ्याप्रीको कुनै पनि लिखित प्ये नरहे तापनि वोन्पोलमको भने प्ये रहे तापनि पछिल्लो समय युवा पुस्ताहरुले यस बारेमा जानकारी नभएको बताउनुभयो ।
नयाँ पुस्ताले चासो नदेखाउँदा लोप हुने अवस्था पुगिरहेको सन्दर्भमा ढिलै भए पनि अमेरिकामा बसोवास गर्ने गुरुङ युवाहरुले चासो देखाएर अनुसन्धान गरेकामा खुशी व्यक्त गर्दै उहाँले सम्पूर्ण गुरुङ एकजुट भएर आफ्नो संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो । चोगी किसम गुरुङले वोन वादी गुरुङको संस्कारलाई समयक्रमअनुसार रुपान्तरण गर्दै वोन्पोलम, पच्यु र घ्याप्रीहरुको संस्कार संरक्षण गर्नुपर्ने बताउनुभयो ।
संयुक्त गुरुङ समाज अमेरिकाका अध्यक्ष प्रदीप कोने गुरुङले अमेरिकामा बसोवास गरिहँदा आफूहरुले आफ्नो जातिको संस्कारहरुका बारेमा भावी युवा पुस्तालाई समेत जानकारी दिनुपर्छ भन्ने उद्देश्य लिएर पाँच सदस्यीय टोली अध्ययन अनुसन्धानका लागि नेपाल आएको बताउनुभयो ।
गुरुङको उद्गम थलो क्होलासोथर नजीकै रहेको सिक्लेसबाट शुरु भएको अध्ययन भ्रमण ताङ्तिङ, तप्राङ, धम्पुस, हँुदै घान्दु्रक आइपुगको बताउँदै लम्जुङ, चितवन हँुदै भारतको सिक्किम र दार्जलिङ लगायतका स्थानमा पुग्ने बताउनुभयो ।
घान्द्रुकका मिमबहादुर गुरुङ, पूर्णमान गुरुङ, जगन गुरुङ, वैशबहादुर गुरुङ लगायतले वोन धर्म र संस्कारका बारेमा जानकारी दिनुभयो । उक्त अवसरमा संयुक्त गुरुङ समाज अमेरिकाका उपाध्यक्ष एन बी गुरुङ, समाजको परराष्ट्र मन्त्रालयको प्रमुख पदम गुरुङ, सञ्चारकर्मी सहज गुरुङ र सल्लाहकार गङ्गाराम गुरुङ लगायतको सहभागिता थियो ।
राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको २४औँ वार्षिक साधारणसभा तथा १२ औं सम्मेलनबाट अध्यक्षमा विष्णुहरि अधिकारी निवार्चित हुनुभएको छ । समितिको उपाध्यक्षमा बसुन्धरा ढकाल, महासचिव सुनील पाण्डे, सचिव निर्मला कोइराला र कोषाध्यक्ष ठाकुरप्रसाद बराल निर्वाचित हुनुभयो ।
त्यसैगरी सदस्यमा कौशल्या गुरुङ, बिन्ध्येश्वरी बराल, पवित्रा जिसी, खिमा गुरुङ, कमलप्रसाद न्यौपाने, श्रीराम आचार्य, गीताकुमारी लामिछाने, रामविक्रम अधिकारी, विष्णुप्रसाद पौडेल र अर्जुन भण्डारी छन् । यो संस्था सम्पदा संरक्षण र नागरिकको अधिकार संरक्षणका लागि क्रियाशील छ ।
कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले सम्पदाको संरक्षण नागरिक समाजको निगरानी खबरदारी आवश्यक रहने बताउनुभयो । समाजमा सामाजिक न्याय स्थापित गर्ने नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।