वीरगञ्ज । साउथ फिल्मका सुपरस्टार अजित कुमार बाइक हाँकेरै नेपाल आइपुगेका छन् । उनी भारतको सिलगुडी हुँदै सोमबार धनुषाको ढल्केबर आइपुगेका हुन। उनले ढल्केबर स्थित रामजी स्विट्स एण्ड फूडमा खाजा खाएर नेपाली खानाको तारिफसमेत गरेका थिए ।
पुरी, जेरी, दही र चिया खाइ फेरी पनि आउँछु भन्दै पसलबाट छुटेको पसलका सञ्चालक रामजी शाहले बताए । छायांकनका लागि मुस्ताङ आएको यही शिलशिलामा नेपालको ठाउँ पनि हेरौं भनेर बाइकमा आएको अजितले रामजीसँग बताएका थिए ।
सन् २०२२ को अक्टोबरमा अजित बाइक हाँकेरै थाइल्यान्डसम्म पुगेका थिए । उनी बाइक चलाएर यूरोप समेत पुगिसकेका छन् । अजित पछिल्लो पटक फिल्म ‘भलिमै’मा देखिएका थिए । यो फिल्मले विश्वभर १ सय ५५ करोड कमाएको थियो ।
मोटरसाइकल हाँक्दै उनी नेपाल आइपुगेको भिडियो र तस्वीरलाई फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । उनी कार र बाइक संकलनका सौखिन अभिनेता समेत हुन् । गत वर्ष उनी अभिनित ‘भलिमाई’ नेपालमा समेत रिलिज भएको थियो । उनी तमिल सिनेमा उद्योगका चर्चित अभिनेता हुन् ।