वीरगंज । चितवनमा सोमबार र मंगलबार भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सोमबार साँझ र मंगलबार बिहान चितवनको दुई ठाउँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको रत्ननगर नगरपालिका १ बकुल्लर चोकमा बसले साइकललाई ठक्कर दिँदा एक जना र पृथ्वीराजमार्गमा पर्ने इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारमा मोटरसाइकल भित्तामा ठोक्किँदा अर्का एक जनाको मृत्यु भएको हो ।
बकुल्लहरमा मंगलबार बिहान १० बजे भरतपुरबाट पूर्वतर्फ गइरहेको बा ४ ख ८९१६ नम्बरको बसले साइकललाई ठक्कर दिएको थियो । ठक्करका कारण साइकल चलाइरहेका बकुल्लहरकै ७५ वर्षीय कुलप्रसाद पराजुली गम्भीर घाइते भएका थिए । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेका पराजुलीको १० बजेर ५० मिनेट जाँदा मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
ठक्कर दिने बसका चालक मकवानपुर मनहरीका २४ वर्षीय मिलन तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी चुम्लिङटारमा सोमबार साँझ पौने ९ बजेतिर बा ५६ प २९८३ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएको थियो । आफैँ अनियन्त्रित भएर मोटरसाइकल ठोक्किएको डीएसपी पण्डितले बताए । उक्त घटनामा गम्भीर घाइते भएका धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ का २४ वर्षीय अञ्जन सिलवालको उपचारको क्रममा ज्यान गएको डीएसपी पण्डितले बताए ।