वीरगञ्ज । गत सोमबार रौतहटमा घाँस काट्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भयो । चन्द्रपुर–धन्सारखण्डअन्तर्गत जंगलमा गएकी चन्द्रपुर नगरपालिका–४ का ४९ वर्षीय मीना मगरको घटनास्थलमै मृत्यु भएको हो । समूहमा गएका अन्यले भागेर ज्यान जोगाएका थिए । मगरलाई आक्रमण गर्ने हात्ती थियो, यमगज । पछिल्लो ६ महिनामा यमगजको आक्रमणमा परी ५ जनाको ज्यान गइसकेको छ । यमगजले बारामा २, रौतहटमा २ र मकवानपुरमा १ जनाएको ज्यान लिएको हो ।पर्सा राष्ट्रिय निकुञ्जका अनुसार १४ वर्षे किशोर हात्ती यमगज हिंस्रक देखिएको छ । यो हात्ती अहिले रौतहटको जंगलसैया क्षेत्रमा रहेको निकुञ्जको भनाइ छ । बारा, पर्सा, रौतहट र मकवानपुरको वन क्षेत्रमा आतंक मच्चाइरहेको यमगज बाराको टांगियाबस्ती क्षेत्रको राष्ट्रिय वन छोडेर जंगलसैया पुगेको हो । यमगजकै कारण निकुञ्जको हात्तीसारका ८ ढोईलाई सुरुमा रामभौरीभाठा र त्यसपछि प्रतापपुर पोष्टमा लगेर राखिएको छ ।रौतहटको वाग्मती, गैडाटार, महेशपुरसम्म पुगिसकेको यमगज आफ्नो पुरानै थातथलोतर्फ फर्कने अनुमान बिपरित हाल बारा र रौतहटको वन क्षेत्रमा रमाइरहेको छ । निकुञ्जकर्मी यमगज रौतहटबाट पूर्व लाग्ने वा पश्चिमतिरै फर्किने तत्कालै अनुमान गर्न नसकिने निकुञ्जका सूचना अधिकृत सूर्य खड्का बताउँछन् ।
‘यमगजले १० महिनायता रौतहटदेखि मकवानपुरसम्म ४ जिल्लाको विभिन्न स्थानमा आफ्नो उपस्थिति देखाएको छ, बढी समय निकुञ्जमा रमाएको थियो,’ उनले भने, ‘अहिले निकुञ्जको बाहिरी क्षेत्र बारा र रौतहटको राष्ट्रिय वन क्षेत्रमा छ ।’तत्कालै यमगजलाई धपाउने वा डार्ट गरेर बेहोस बनाई अन्यत्र लग्ने योजना पनि नरहेको उनले बताए । ‘हामीले यसअघि नै यमगजको दारा काटेर शान्त बनाउने प्रयास गरिसकेका छौं,’ उनले भने, ‘तैपनि उसको मात घटेको छैन ।’ निकुञ्जका पूर्व प्रमुख अशोक रामले असारको अन्तिम साता यमगजसंगै पर्सा निकुञ्जसम्म आइपुगेका ५ हात्तीमध्ये २ वटा फर्किसकेको बताए । तर अझै ३ वटा हात्ती भने निकुञ्ज र यसको वरपरको राष्ट्रिय वन क्षेत्रमै बसेको उनी बताउँछन् । २ वटा हात्ती पर्साबाट पूर्व फर्कने क्रममा हालै सिन्धुली र सिरहामा १÷१ जनाको ज्यान लिएको थियो ।असारको तेस्रो साता झापा, कोशी टप्पु हुँदै पूर्वबाट यमगजसहित ५ वटा हात्ती पर्सा निकुञ्जसम्म पुगेका थिए । पूर्वबाट सप्तरी, धनुषा, सर्लाही, रौतहट र बाराको टांगिया बस्ती हुँदै निकुञ्ज क्षेत्रमा ती हात्ती प्रवेश गरेका थिए । जंगली हात्तीको समूहले बर्सेनि झापादेखि चितवन राष्ट्रिय निकुञ्जसम्मको लामो यात्रा गर्ने र एउटा निश्चित समय पछि पुनः फर्कने गरेका छन् ।
तर यस बर्ष भने झापाबाट आएकामध्ये ३ वटा हात्ती लामो समय यतै बसेकाले उनीहरू यतैको रैथाने बन्न सक्ने सम्भावना रहेको राम बताउछन् । प्रायः असारको अन्त्यतिर हात्तीको समूह धान र मकै बाली खादै मानव बस्तीको छेउछेउ चुरे पवर्तको सिरानको आफ्नो परम्परागत मार्ग प्रयोग गरेर यसरी लामो यात्रा गर्ने गरेको उनले बताए । हाल यमगज, मकुना र दारे गरी ३ वटा हात्ती यतै छन् । यम पन्चकका दिन बाराको अमलेखगन्जमा एउटा महिलाको ज्यान लिएकाले उक्त जंगली हात्तीको नाम यमगज राखिएको हो । लामो समयदेखि उदण्डता मच्चाउदै आएको यमगजले निकुञ्जको अमलेखगन्ज हात्तीसारका ८ पोथी हात्तीको पछि लाग्न नछाडेपछि २ महिना अघि निकुञ्जको रामभौरीभाठाबाट ती हात्तीलाई मकवानपुरको प्रतापपुर पोस्टमा स्थानान्तरण गरिएको छ । निकुञ्ज प्रशासनले मंसिरको पहिलो साता ती ८ वटै हात्तीलाई अमलेखगन्जस्थित हात्तीसारबाट स्थानान्तरण गरी त्यहाँबाट २५ किमि पश्चिममा रहेको निकुञ्जको कोर एरिया मानिने पर्साको रामभौरीभाठामा लगेर राखेको थियो ।तर त्यहा झाडै २ महिना राख्दा पनि यमगज ती ढोईकै वरिपरि बस्ने, चराउन नदिने र उनीहरूको रासन पनि खोसेर खाने गरेकाले निकुञ्ज प्रशासनले ढोईहरूलाई प्रतापपुर पोस्टमा स्थानान्तरण गरेको हो । ढोईहरूको पछिपछि प्रतापपुर पोस्टसम्म पनि पुगेको यमगज अर्को मत्ता हात्तीसँग २ पटक जुधेको थियो । त्यसपछि भागेको यमगज पर्सा, बारा र मकवानपुर र रौतहटको विभिन्न क्षेत्रमा घुमिरहेको छ ।