काठमाडौं । बली चढाउन भन्दै भारत लगिएको आशंका गरिएको एक जना किशोरीको प्रहरीले उद्दार गरेको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतीय संस्था किन इण्डियाको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले १६ वर्षीया नेपाली किशोरीको उद्दार गरेको हो ।
ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठका अनुसार उनलाई भारतको रन्होला थापाको वडा एरिया अन्तरगत मंगलबजार गल्ली नम्बर २, बापरुल्लाबाट उद्दार गरिएको छ । उनलाई बिहीबार उद्दार गरेर नेपाल ल्याइएको श्रेष्ठको भनाइ छ ।
बालिकालाई भारत लैजाने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अझै अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन ।
प्रहरीका अुनसार पीडित किशोरीलाई १७ मंसिरमा मामा घरबाट काठमाडौं ल्याएर राखिएको थियो । त्यसक्रममा पीडितलाई आफन्तसँग समेत सम्पर्क गर्न नदिइ बन्धक बनाएको पाइएको एसएसपी श्रेष्ठले बताए ।
प्रहरीका अनुसार २० पुस विभिन्न व्यक्तिहरु मिलेर उनलाई स्थलमार्गबाट सुनौली नाका हुँदै भारतको नयाँ दिल्ली पहाडगञ्ज लगेका थिए । पक्राउ परेकाहरुले दिएको बयान अनुसार उनीहरुलाई कम्तिमा ५ फिट ४ इञ्च उचाइ भएको, शरीरमा कुनै दाग वा ट्याटु नभएको र कुनै अंगमा चोटपटक नभएको, रजश्वला नभएको किशोरी ल्याउन भनिएको थियो ।
पीडित किशोरीलाई एक जना तान्त्रिक बाबासँग भेटाइदिएर खुशी बनाए अथाहा पैसा पाउने भनिएको प्रहरीको भनाइ छ । ‘बालिकालाई भारतको विभिन्न स्थानमा रहेका ३ जना फरकफरक तान्त्रिकसँग भेटाएको पनि पाइएको छ’, श्रेष्ठले भने, ‘हाल किशोरीलाई एक सामाजिक संस्थाको सेल्टरमा राखिएको छ ।’