वीरगंज । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुन लागेको नगर परिषद् निर्वाचनका लागि नेपाल-भारत नाका सिल गरिएको छ ।आगामी पुष ३ गते अर्थात आइतबार त्यहाँ हुन लागेको प्रथम चरणको नगर परिषद्को निर्वाचनका निमित्त विहिबार दिउँसोदेखि वीरगंज-रक्सौल नाकासहित विहार राज्यसँग जोडिएका सम्पूर्ण नाकाहरु सिल गरिएको हो । पूर्व सूचना विनानै विहिबार दिउँसोदेखि भारतीय प्रशासनले वीरगंज-रक्सौल नाका अचानक सिल गर्दा स्थानीयहरुलाई सास्ती भएको छ ।
सवारीसाधन ओहोर दोहर नहुँदा दुवै तर्फका स्थानीय र नेपाल प्रवेश गर्न लागेको मालवाहक सवारीसाधन पनि फँसेको स्थानीयले गुनासो गरेका छन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार भारतीय पक्षले आफूहरुसँग समन्वयनै नगरी नाका सिल गर्दा समस्या भएको हो । उनले आइतबार निर्वाचन सम्पन्न भएपश्चात मात्र नाका खोलिने जानकारी दिए ।
‘हामीलाई कुनै सूचनानै नदिइ भारतीय पक्षले दुवैतर्फबाट सवारीसाधन प्रवेशमा आज दिउँसोदेखि अचानक रोक लगायो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावाससँग समन्वय गर्दा ७२ घण्टा अगाडि बोर्डर सिल हुने भनेर सूचना प्राप्त गर्यौं । थप समन्वय गरेर नाकालाई केही घण्टाका लागि सहज गर्न आग्रह गरेका छौं । आज रातीदेखि आइतबार साँझसम्मका लागि पूर्ण रुपले बोर्डर बन्द नै रहनेछ,’ पौडेलले यात्राडेलीलाई टेलिफोन संवादमा भने । साधारण सवारीसाधन प्रवेशमा रोक लागेपनि अत्यावश्यक सामग्री बोकेका गाडी भने निर्वाध रुपले प्रवेश गर्न मिल्ने उनले प्रष्ट पारे ।