सिंगापुर । भारत विहारका पूर्व मुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल भएको छ । ७४ वर्षीय यादवको गत सोमबार सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो । यादवलाई आफ्नै छोरी रोहिणी आचार्यले मिर्गौला दान गरेकी हुन् ।
पेशाले चिकित्सक समेत रहेकी रोहिणी अहिले आफ्नो श्रीमानसंग सिंगापुरमा बस्दै आएकी छन् ।
यादवको पछिल्लो केही वर्ष देखि मिर्गौला अस्वस्थ भएको थियो । उनले दिल्लीस्थित एम्स अस्पतालमा मिर्गौलाको उपचार गराउँदै आएका थिए । तर सुधार नभएपछि उनी छोरीकै सल्लाहमा सिंगापुर आएका थिए । यहाँका चिकित्सकले मिर्गौला प्रत्यारोपण नै उत्तम विकल्प भनेपछि उनी त्यसमा राजि भएका थिए ।
यादवलाई मिर्गौला मात्रै नभई मधुमेह, उच्च रक्तचाप लगायतको समस्या समेत थियो ।
अस्पताल स्रोतका अनुसार अहिले अंग ग्रहणकर्ता यादव र अंगदाता आचार्य दुबैको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ ।