वीरगंज । बलिउड अभिनेता शाहरुख खानलाई कस्टम विभागले मुम्बई एअरपोर्टमा शुक्रबार राति एक घण्टा सोधपुछ गरेको छ । सोधपुछपछि शाहरुख र उनको म्यानेजर पूजा ददलानीलाई प्रहरीले छाडे पनि शाहरुखका बडीगार्ड रवि र टिमलाई नियन्त्रणमै राखेको थियो । समाचारअनुसार लाखौँ मूल्य पर्ने घडीलाई भारत ल्याएको, झोलामा महँगा घडीका खाली डिब्बा भेटिएको र कस्टम ड्युटी नतिरेको कारण जनाउँदै विभागले शाहरुखसँग सोधपुछ गरेको थियो ।
शाहरुख आफ्नो टिमका साथ निजी चार्टरबाट दुबईको एक पुस्तक सार्वजनिक कार्यक्रममा पुगेका थिए । यही चार्टरबाट गए राति साढे १२ बजे उनी मुम्बई फर्किएका थिए । रेड च्यानल पार गरिरहँदा कस्टमले शाहरुख र उनको टिमको ब्यागमा लाखौँ रुपैयाँको घडी फेला पारेको थियो । यसपछि कस्टमले सबैलाई रोक लगाएको थियो र झोलाको चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा झोलाबाट विभिन्न महँगा ब्राण्डका घडीसँगै घडीका खाली बट्टा भेटिएका थिए । कस्टमले यी घडीको मूल्यांकन गर्दा १७ लाख ५६ हजार ५ सय रुपैयाँ निकालेको थियो । यी घडीको कर तिर्न उनीहरुलाई आग्रह गरिएको थियो ।
त्यसपछि शाहरुखका बडीगार्ड रविले ६ लाख ८६ हजार रुपैयाँ कस्टम शुल्क तिरेका थिए । यसको बिल रविकै नाममा बनेको छ । रविले पैसा शाहरुखको क्रेडिट कार्डबाट तिरेका छन् । सबै प्रक्रिया पूरा गरेपछि रविलाई शनिबार बिहान ८ बजे कस्टमले छाडेको थियो । यसअघि शाहरुखलाई अमेरिकाको विमानस्थलमा पटक–पटक सोधपुछ गरिएको समाचार आउने गरेको थियो । तर, यसपटक उनी आफ्नै देशको मुम्बई एयरपोर्टमा केरकारमा परे ।