वीरगंज । भारत आगामी एक दशकभित्रै विश्वको तेस्रो ठूलो सेयर बजार बन्ने बहुराष्ट्रिय इन्भेष्टमेन्ट बैंक मोर्गन स्टेनलीले बताएको छ । स्टेनलीको एक रिपोर्ट अनुसार आगामी एक दशकसम्म भारतले विश्वव्यापी आर्थिक वृद्धिको २०% हिस्सा ओगट्ने देखिएको छ ।
स्टेनलीले आगामी एक दशकसम्म भारतको सेयर बजार पुँजीकरण वार्षिक ११% को दरले बढ्दै गएर १०० खर्ब अमेरिकी डलर बराबर पुग्ने रिपोर्टमा प्रक्षेवण गरेको इकोनोमिक टाइम्सले रिपोर्ट गरेको छ ।
विदेशी लगानी, उत्पादनमूलक तथा उर्जा क्षेत्रको लगानीले भारतलाई विश्वको तेस्रो ठूलो अर्थतन्त्रसँगै तेस्रो ठूलो सेयर बजारका रुपमा स्थापित गर्ने रिपोर्टमा उल्लेख छ । सन् २०३१ सम्ममा भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) हालको विन्दुबाट दोब्बर बढेर ७५ खर्ब अमेरिकी डलर पुग्ने मोर्गन स्टेनलीको प्रक्षेपण छ । आगामी एक दशकसम्म प्रतिवर्ष ५ खर्ब डलरको दरले जीडीपी बढ्ने यस बैंकले प्रक्षेपण गरेको छ ।