वीरगंज । मन्त्री बन्न नपाउँदा आफ्नै पुत्ला जलाउने प्रदीप यादवलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पर्सा–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका छन्।
घटना २०७८ मंसिरकै हो। मन्त्री बन्न नपाएको भन्दै त्यसबेला जसपाका सांसद प्रदीप यादवको नेतृत्वमा उनका कार्यकर्ताले वीरगंजमा पार्टी अध्यक्ष यादवविरुद्ध नाराबाजी गर्नुका साथै पुत्लासमेत जलाएका थिए। उनीहरुले पार्टीको झण्डासमेत जलाएको प्रत्यक्षदर्शीको भनाई थियो।
प्रदीप यादवका कार्यकर्ताले काठमाडौँदेखि मधेशसम्म सडकमै उत्रिएर ‘उपेन्द्र यादव मधेस छोड्’जस्ता नाराबाजीसमेत गरेका थिए। पार्टी अध्यक्षकै पुत्ला दहन गरेकोमा सांसद यादवलाई त्यो बेला केन्द्रीय सदस्यबाट हटाएर साधारण सदस्यमा घटुवा गरिएको थियो।
सांसद यादवलाई पार्टीबाटै निष्कासन गर्नेसम्मको तयारी भए पनि सांसद पद जाने भएकाले साधारण सदस्यसम्म रहने गरी कारबाही गरिएको थियो। सांसद यादवलाई हटाएर उनको स्थानमा वीरगन्ज महानगरपालिकाका तत्कालीन मेयर विजय सरावगीलाई केन्द्रीय सदस्य बनाइएको थियो।
मन्त्री पद नपाउँदा पार्टी अध्यक्षकै पुत्ला जलाउने यादवमाथि पार्टीले त्यसअघि पनि अनुशासनको कडा कारबाही नगरेको हैन। फ्री तिब्बत गतिविधिमा लागेको भन्दै उनलाई केही वर्षअघि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको घटना अझै सेलाइसकेको छैन।
राजनीतिमा स्थापित हुन साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्न माहिर यादवलाई यसपाली भने पर्सा–१ मा चुनाव जित्न त्यति सहज देखिँदैन। यसका लागि उनको विवादास्पद व्यक्तित्व नै मूल बाधक रहेको वीरगंजका बुद्धीजिवीहरुको मत छ।
जसपाका कार्यकर्ताले पार्टी कार्यालयमा उपेन्द्र यादवको पुत्ला जलाए
जसपाका कार्यकर्ताले पार्टी कार्यालयमा उपेन्द्र यादवको पुत्ला जलाए – Birgunj Sanjal