वीरगंज । बेलायती गृहमन्त्रीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिने बताएकी छन् । बेलायतकी गृहमन्त्री प्रिती पटेलले असान्जलाई अमेरिका सुपुर्दगी गर्न अनुमोदन गरेको जानकारी दिइन् ।
अब असान्जसँग बेलायतको निर्णयविरुद्ध अपिल गर्न १४ दिनको समय रहेको गृह मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।असान्ज अमेरिका रहँदा उनको मानव अधिकारको प्रत्याभूति हुने र उनीसँग उचित व्यवहार गरिने बेलायतको अदालतले जनाएको छ ।
असान्जलाई सन् २०१० र २०११ मा विकिलिक्सको नाममा गोप्य कागजातहरू सार्वजनिक गरेको आरोपमा अमेरिकी अधिकारीहरूले खोजिरहेका छन् । सन् २०१९ मा लन्डनस्थित इक्वेडरको दूतावासले शरणार्थीको स्थितिबाट हटाएपछि बेलायती प्रहरीले उनलाई गिरफ्तार गरेका थिए ।सुपुर्दगी हुन नदिन लामो लडाइँ लडीरहेका उनी हाल लन्डनको बेलमार्स जेलमा छन् ।