

वीरगंज | इन्टर्न तथा आवासीय चिकित्सकका माग सम्बोधन गर्ने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै डा. डिल्ली हरिजनले दोस्रो पटक आमरण अनशन सुरु गरेका छन्।
सोमबारदेखि भक्तपुरको सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगको कार्यालयमा डा. हरिजन आमरण अनशनमा बसेका हुन्। इन्टर्न तथा आवासीय चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता, सुरक्षित कार्य वातावरणलगायतका विषयमा यसअघि पनि उनले आन्दोलन गर्दै आएका थिए।



यसअघि अनशन बसेपछि सरकारले डा. हरिजनसँग पाँचबुँदे सहमति गरेको थियो। तर सहमति भएको दुई महिना बितिसक्दा पनि त्यसको कार्यान्वयन नभएको उनको आरोप छ। सहमति कार्यान्वयनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदिएपछि बाध्य भएर पुनः आमरण अनशनमा बस्नुपरेको उनले बताए ।
डा. हरिजनले इन्टर्न तथा आवासीय चिकित्सकले अहिले पनि अत्यन्त कठिन परिस्थितिमा काम गर्नुपरिरहेको बताए । विशेषगरी ३६ घण्टासम्म लगातार ड्युटी गर्नुपर्ने अवस्थाले चिकित्सकको स्वास्थ्य, कार्यक्षमता र बिरामीको उपचार सेवामै असर पार्न सक्ने उनको भनाइ छ।
‘चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता, सुरक्षित कार्य वातावरण तथा अन्य जायज विषयमा पटक–पटक आवाज उठाउँदा पनि अपेक्षित सुधार नदेखिनु दुःखद् छ,’ उनी भन्छन् ।
इन्टर्न तथा आवासीय चिकित्सकलाई लामो समयसम्म काममा लगाउने तर त्यसअनुसारको सुविधा, सुरक्षा र श्रमको उचित सम्मान नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको माग छ। चिकित्सकलाई सुरक्षित र मर्यादित वातावरणमा काम गर्ने व्यवस्था मिलाउनु राज्यको दायित्व भएको उनले बताए ।
माग सम्बोधनका लागि आफूहरूले सडक आन्दोलनदेखि सदनसम्म, संवाददेखि अनशनसम्मका लोकतान्त्रिक तथा शान्तिपूर्ण माध्यम अपनाइसकेको डा. हरिजनले बताए । तर पटक–पटक प्रतिबद्धता जनाइए पनि व्यवहारमा कार्यान्वयन नहुँदा समस्या दोहोरिएको उनको भनाइ छ।
सहमति कार्यान्वयन गरी इन्टर्न तथा आवासीय चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न उनले सरकारसँग आग्रह गरेका छन्। आफूले उठाएका विषय व्यक्तिगत नभई देशभरका इन्टर्न तथा आवासीय चिकित्सकको कार्य अवस्था र अधिकारसँग जोडिएको उनको दाबी छ। उनले माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका छन्।


