वीरगंज । मलेसियामा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) टीट्वेन्टी महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रुबिना क्षत्रीको कप्तानीमा १५ सदस्यीय महिला टोलीको घोषणा गरेको हो। प्रारम्भिक चरणबाट छनोट भएका १९ खेलाडीबाट क्यानले अन्तिम चरणमा १५ सदस्यीय टोली घोषणा गरेको हो। नेपाली टोलीमा रुबिना क्षत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, संगीता राई, अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, बिन्दु रावल र ममता चौधरी छन्।
मनिषा उपाध्याय पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएकी हुन्। युगान्डासँगको टीट्वेन्टी शृंखलामा टोलीमा स्थान बनाएका सरिता मगर र हिरनमयी रायले भने अन्तिम १५ मा स्थान बनाउन सकेनन्। ट्राभल डकुमेन्ट बन्न नसक्दा राय मलेसिया भ्रमणमा पर्न नसकेको जनाइएको छ। रायको स्थानमा गण्डकी प्रदशेबाट घरेलु क्रिकेट खेल्दै आएकी मनिषालाई मौका दिइएको हो। यसैगरी अलराउन्डर ममता चौधरीले टोलीमा पुनरागमन गर्दा सरिता मगर भने बाहिरिएकी छन्।
एसीसी टीट्वेन्टी महिला च्याम्पियनसिप असार ३ गतेबाट मलेसियामा सुरु हुँदैछ। च्याम्पियनसिपमा नेपाल समूह ‘बी’मा छ। नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन्। समूह ‘ए’मा मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार र सिंगापुर छन्। नेपालले असार ३ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। नेपालले असार ४ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै असार ६ गते बहराइन र असार ७ गते हङकङको सामना गर्नेछ। समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली एसिया कप क्रिकेटमा छनोट हुनेछन्। नेपाली टोलीकी कप्तान रुबिना क्षत्रीले च्याम्पियनसिपको ट्रफी उचाल्दै एसिया कपमा छनोट भएर फर्किने बताएकी छन्।