केही दिनअघि मात्र स्वास्थ्यलाई हानी–नोक्सानी पु¥याउने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा निर्वाध बिक्री भइरहेको खबरले चिन्तित तुल्यायो । किनकि, म पनि त्यही बजारको उपभोक्ता हुँ र राम्रा रसिला आँप देखेपछि किनेर घर लैजाने मन सबैको हुन्छ ।
बगैंचामा आँप ढिलो पाक्ने भएपछि व्यापारीले काँचो टिपेर पकाउन औषधि प्रयोग गर्छन् । यसरी पकाइएको आँप हेर्दै खान मनलाग्ने खालको देखिन्छ ।
बगैंचामा फलेको आँप असारको दोस्रो–तेस्रो सातापछि मात्र पाक्ने भएकाले व्यापारीले कार्बाइड प्रयोग गरेर जेठ १५ पछि नै बजारमा बिक्री गर्न ल्याउँछन् । आँप हेर्दा बोटमै पाकेको जस्तै देखिन्छ । आँखा लोभिएपछि मुख रसाउँछ अनि घर लैजाऊँ लैजाऊँ लाग्छ ।मूल्य राम्रो पाउने र समय अगाडि नै व्यापार गर्ने होडबाजीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । आँप मात्र होइन अन्य बेमौसमी फलफूल र तरकारीमा समेत मनग्य विषादीको प्रयोग हुँदै आएको छ । नेपालभित्रै पनि दर्जन प्रकारका विषादी प्रयोग गरिने कुरा बारम्बार सतहमा आए पनि अर्गानोफोस्पेट र काब्रामाइटको मात्र परीक्षण हुन सक्ने स्वदेशी प्रयोगशालाको हालत देखेर हामी सजिलै अनुमान लगाउन सक्छौं, उपभोक्ताको स्वास्थ्य कति जोखिममा छ भनेर ।
डा. अच्युतशाली घिमिरे
यस्ता विषादीबाट बच्न हामीले सकभर मौसम अनुसार फल्ने फलफूल र तरकारीको मात्र सेवन गर्नुपर्छ । अलिकति बढी पैसा तिरेरै भए पनि अर्गानिक र ताजा फलफूल तथा तरकारीहरु किन्नुपर्छ अनि विषादीजन्य खाद्यान्नलाई बहिस्कार गर्नुपर्छ ।
जसका कारण फलफूल र तरकारीमा पाइने खनिज तत्व, भिटामिन शरीरमा चाँडै पचेर तुरुन्तै शक्ति प्रदान गर्न सक्छ । विषादीमुक्त तरकारी र फलफूलको सेवनले रगतको संरचनालाई मजबुत राखेर हामीलाई दीर्घकालीन रुपमा स्वस्थ राख्न मद्दत पु¥याउँछ । यी खाद्यान्न रेसादार हुने हुनाले कब्जियत हटाउनुका साथै पाइल्स, फिस्टुला जस्ता रोगबाट समेत बचाउँछ ।