निर्वाचन आयोगले पालिका चुनावका उम्मेदवार र उनीहरूका समर्थकलाई आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौन अवधि अर्थात् २७ गते राति १२ बजेदेखि उम्मेदवार र उनीहरूका समर्थकका फेसबुक, ट्विटर, टिकटक लगायतका पेजमा प्रायोजित पोस्टहरू हुन सक्ने भएकाले सबै उम्मेदवार र उनीहरूका समर्थकहरुलाई मौन अवघि सुरु हुनुअघि नै सामाजिक सञ्जालका पेजमा भएका आचारसंहिता विपरीतका चित्र तथा पोस्टहरू र नयाँ पोसट नगर्न निर्देशन दिइएको बताउनुभयो ।
यसको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन पनि दिएको छ । यस्तै मौन अवधिमा दूरसञ्चार कम्पनीमार्फत सामूहिक एसएमएस अर्थात् बल्क एसएमएस वा भ्वाइस सेवा प्रवाह हुन सक्ने भएकाले यस्ता काम नगर्न पनि आयोगले सबै कम्पनीलाई निर्देशन गरेको छ ।