वीरगन्ज | प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको बताएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताए । प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दैै उनले प्रदेश २ सरकारलाई विभिन्न ढंगले हमला गर्ने प्रयास भइरहेको बताए । हालै मुख्यमन्त्री कार्यालयमा भएको अख्तियारको छापालाई पनि उनले आपत्तिजनक बताए ।
आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई बदनाम गर्न अनेक षड्यन्त्र भइरहेको बताए । ‘यो त संस्थामाथिको हमला हो,’ उनले भने, ‘प्रदेश सरकारलाई बदनाम गर्न अनेक प्रकारका षड्यन्त्र भइरहेको छ ।’
उनले मुख्यमन्त्री कार्यालयबाट साइकल वितरणमा अनियमितता भएको भन्ने हल्लामा सत्यता नरहेको पनि बताए । उनले भने, ‘त्यो बजेटको व्यवस्थापन कसले गरेको ? तपाईहरु (सांसदहरु) ले बजेट पास गरेको होइन र ? मुख्यमन्त्रीले बजेट कार्यान्वयन गर्ने होइन नि, मुख्यमन्त्रीले बजेट खर्च गर्ने होइन ।’