वीरगन्ज | सरकारले तोकेको तलब सुविधान नपाएपछि आन्दोलनमा उत्रेका सप्तरीका बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको धर्ना सोमबार पनि जारी छ । कार्यालय खुल्नासाथ राजविराज नगरपालिकामा आएर उनीहरुले ३ घण्टा धर्ना दिएका छन् । मुल गेट मै धर्नामा बसेपछि कार्यालयको अधिकाँश सेवा प्रभावित बन्न पुगेको छ । सरकारले बृद्धि गरेको तलब उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रेका महिला बाल शिक्षकहरु धर्नामा बसेको सोमबार सात दिन पुगेको छ ।
शुरुमा एक घण्टा धर्नामा बस्ने गरेका उनीहरुले समय बढाउदै अहिले दैनिक ३ घण्टा सम्म धर्नामा वस्न थालेका हुन । विद्यालयका बाल शिक्षक, बाल विकास सहयोगि र कर्मचारीको सरकारले तलब बृद्धि गरेपनि आफूहरुले नपाएको गुनासो गर्दै धर्नामा बसेको बताएका छन् । यसअघि ज्ञापन पत्र बुझाउने, पेन डाउन गर्ने, हातमा कालो पट्टी बाँधेर पठनपाठनमा सहभागि हुने। सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम र धर्ना लगायत कार्यक्रम गरेकोमा कुनै सुनवाई नभएपछि धर्नाम वस्न थालेको उनीहरुको भनाई छ ।
नेपाल सरकारको २०७८ को बजेट अनुसार बृद्धि गरेको २ हजार र स्थानिय सरकारबाट ७ हजार दिने भनिएपनि आफूहरु पाउन नसकेको संघर्ष समितिकी सदस्य सचिव विभा झाको भनाई छ । पहिलादेखि पाइरहेको ६ हजार र थप गरिएको २ हजार गरि ८ हजार तथा सम्बन्धीत नगरपालिका र गाउँपालिकाबाट ७ हजार थप गरि १५ हजार तलब दिनु पर्ने आन्दोलनकारी शिक्षिकाहरुको भनाई छ ।