वीरगन्ज | लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) प्रदेश २ संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने विषयमा छलफल गरेको छ । प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोसपाका प्रदेश सांसदहरुले संसदीय दलको बैठकमा भ्रष्टाचारको आरोप लागेका मुख्यमन्त्री लालबाबु राउतलाई तत्काल नैतिकताको अधारमा राजिनामा गर्नु पर्ने माग प्रदेश सभामा उठाउने सहमति गरेको छ । संघीयतालाई बदनाम गराएको भन्दै मुख्यमन्त्री राउतको राजीनामा बारे संसदीय दलको बैठकमा सहमति भएको प्रदेश सांसद उपेन्द्र महतोले बताए । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयबाट फाइल नियन्त्रणमा लिएका कारण अनुसन्धान प्रक्रिया पूरा नभएसम्म मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने विषयमा दलको बैठकमा छलफल भएको हो’ महतोले भने, भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारी इमान्दार हुनु पर्ने बताउने मुख्यमन्त्रीकै कार्यालयमा भएको भ्रष्टाचारको छानविन गर्न मुख्यमन्त्रीले राजिनामा दिनु पर्ने लोसपाका प्रदेश सांसदहरुको निष्कर्ष हो ।
सुशासनको मन्त्र जाप गर्ने मुख्यमन्त्रीले अनुसन्धान प्रक्रियामा सहयोग नगरी कार्यकर्तालाई अख्तियार बिरुद्ध प्रदर्शनमा उचालेको आरोप लगाए । लोसपा सांसदहरुले बैठकमा मुख्यमन्त्री कार्यालयमा छापा मारेको शैली भने ठिक नभएको भन्दै अख्तियारको शैलीमाथि समेत प्रश्न उठाएका थिए । संघीयताको नाममा मुख्यमन्त्रीले भ्रष्टाचार गरेका कारण अख्तियारको अनुसन्धान पूरा नभएसम्म राउतलाई नैतिकताको अधारमा तत्काल राजीनामा दिनुपर्ने महतोले बताए । मुख्यमनत्री कार्यालयबाट अख्तियारले कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि जसपाका कार्यकर्ताहरू अख्तियारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
लोसपा प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनल अख्तियारको छानविनमा रहेका छन् ।उनीसित अख्तियारले नेपाल राष्ट्र बैंकको अतिथिगृहमा वयान समेत लिएको हो ।तर उनले छानबिन सहज बनाउन राजिनामा दिएका थिएनन् । संसदीय दलको बैठकमा प्रदेश सरकारको गतिविधि, प्रदेश सभामा प्रमुख प्रतिपक्षको भूमिकामा रहने बारे संसद् सचिवालयलाई जानकारी र प्रदेश सांसदहरुको लेवी बारे छलफल भएको महतोले जनाए । जनता समाजवादी पार्टी( जसपा)बाट विभाजित भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश सांसदहरु संसद्मा राणनीति बनाउन जुटेका छन् । लोसपाले असोज २० गते बस्ने सातौं अधिवेशनको पहिलो प्रदेश सभा बैठक अवरुद्ध गरी मुख्यमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा माग्ने तयारी गरेको छ । प्रदेश सभामा लोसपाका १६ सांसद छन् ।