जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् ।जसपा विभाजन भएको १ महिनाभन्दा बढी समय भई सकेको अवस्थामा असोज २० गते विश्वासको मत लिने तयारी गरेका हुन् ।
मुख्यमन्त्री राउतले दल विभाजन भएको महिना दिनपछि पनि विश्वासको मत नलिएको आलोचना हुन थालेपछि विश्वासको मत लिने तयारी गरेका हुन् । संविधानको धारा १८८को उपधारा २ अनुसार दल विभाजन भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रदेश २ सरकारमा अहिले जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्र शामिल छ भने नेकपा (एस)को सरकारलाई समर्थन छ । त्यस्तै जसपाबाटै अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले विपक्षमा रह्ने जनाएको छ । १ सय ७ सदस्यीय प्रदेशसभामा अहिले १ सय ४ जना प्रदेशसभा सदस्य प्रतिनिधित्व गरिरहेका छन् ।
प्रदेशसभामा जसपाको ३९, नेपाली कांग्रेस १९, लोसपा १६, नेकपा(एस) १३, नेकपा एमाले तथा माओवादी केन्द्र ८÷८ र नेपाल संघिय समाजवादी पार्टीसंग १ प्रदेशसभा सदस्य रहेको छ ।
आज (बुधबार) बिहान बसेको मन्त्री परिषद बैठकबाट असोज २० गते प्रदेशसभा बैठक आह्वान गर्ने तयारी गरिएको हो । प्रदेशसभा बैठक गत जेठ २९ गते यता बस्न सकेको छैन ।