जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ९ स्थित जोभा प्राकृतिक वनबाट संकलित सखुवाको काठ वडाध्यक्षले नै चोरी गर्ने प्रयास गरेका छन् ।
गोलबजार ९ का वडाध्यक्ष रामपुकार कामतिले सखुवाको काठ चोरेर लाने प्रयास गरेका हुन् । सोमबार राति करिब ९ बजेतिर सालको काठ जेसीबीमा जोड गरेर लगिरहेको अवस्थामा स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएका छन् ।
सालको काठसहित ना १ ग ७०६ नम्बरको जेसीबी र चालक नियन्त्रणमा रहेकोे तथा आवश्यक अनुसन्धान भइरहेको मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।
स्थानीयले बयान लिँदा जेसीबी चालक श्रवण कुमार साहले आफूलाई अध्यक्ष कामतिले नै लैजान भनेको बताएपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए ।
सरकारी टाँकासमेत लागिसकेको सालको काठ लोड गरी लगिरहेको देख्दा आफूहरुले जेसीबी रोक्न लगाएर प्रहरीलाई फोन गरेको स्थानीय सकलदेव सिंहले बताए । हावाहुरीले ढालेको साल तथा अन्य गरी १ करोड रुपैयाँभन्दा बढी मूल्यको काठ रहेकोमा यसरी नै चोरी पैठारी हुँदै हाल १० लाख मूल्यको पनि काठ नरहेको उनको भनाइ छ ।
वडाध्यक्ष कामति भने यस विषयमा केहि बोल्न चाहेनन् । उनले आफू त्यही विषयमा छलफलमा रहेकोे भन्दै पञ्छिए । श्रोतका अनुसार, वडाध्यक्ष कामति र मेयर देवनाथ साहले काठ समातेका स्थानीयसँग सहमति गरेर यस विषयलाई टुंग्याउने प्रयासमा छन् ।