जनकपुर । प्रदेश २ को प्रदेशसभा सचिवालयले सभामुखका राजनीतिक सल्लाहकारलाई उपलब्ध गराएको सरकारी सवारीसाधन प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले प्रयोग गरिरहेको पाइएको छ ।
सभामुख सरोजकुमार यादवका राजनीतिक सल्लाहकार रहेका महतोका ज्वाइँ अनिल महासेठलाई सचिवालयले उपलब्ध गराएको सरकारी सवारीसाधन उनका ससुरा राजेन्द्र महतोले प्रयोग गरिरहेका छन् ।
आइतबार जनकपुरधाममा लोसपा महिला परिवारले आयोजना गरेको जितिया पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी हुन जाँदा महतो महासेठलाई प्रदेशसभा सचिवालयबाट उपलब्ध गराइएको प्रदेश २–०२ ००१ झ ००९१ नम्बरको सरकारी गाडीमा सवार भई कार्यक्रमस्थलसम्म पुगेका थिए ।
सभामुख यादवको राजनीतिक सल्लाहकारमा ०७६ माघ १५ गते नियुक्त भएका महासेठले गाडी सुविधासहित प्रदेशसभाबाट मासिक १ लाख पारिश्रमिक बुझिरहेका छन् ।
महासेठलाई प्रदेशसभा सचिवालयले गत साउनदेखि तलबमान बढाएर मासिक ५२ हजार ६ सय पारिश्रमिक र गाडी सुविधासमेत उपलब्ध गराउँदै आइरहेको छ । सोही गाडी अहिले महतोले प्रयोग गरिरहेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य महतोका ज्वाइँ महासेठलाई कार्यविधि विपरित ५ महिनामै ५ लाख रुपैयाँ पारिश्रमिक सुविधा उपलब्ध गराएको हो ।
प्रदेशसभा सचिवालयको दरबन्दीमा राजनीतिक सल्लाहकारको व्यवस्था नभएको अवस्थामा सभामुख यादवले अधिकृतस्तर एघारौँ तहको पारिश्रमिक पाउने गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल महासेठलाई राजनीतिक सल्लाहकार नियुक्ति गरी ५ लाख १ हजार खर्च लिएका छन् ।
कार्यालयको कार्य प्रकृतिअनुसार सभामुख, उपसभामुख तथा अन्य सभासदले पाउने सेवा सुविधामा कानुनी तथा राजनीतिक सल्लाहकार राख्न पाउने व्यवस्था नै नरहेको अवस्थामा राजनीतिक पहुँचका आधारमा महतोले आफ्ना ज्वाइँलाई सभामुख यादवको सल्लाहकार बनाएका हुन् ।