जनकपुर । प्रदेश सरकारले महिला हिंसा न्यूनिकरणको लागि प्रयोगमा ल्याएको ‘हेल्लो सिएम’ एप प्लेस्टोरबाटै गायब भएको छ ।
६ लाखको लागतमा ‘हेल्लो सिएम’ एप बनाएर ११ कात्तिक २०७५ मा प्रदेश २ सरकारले समुदा(प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै सार्वजनिक गरेको थियो ।
एप सर्वाजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले महिला हिंसामा परेको बखत एपले महिलालाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
डाउनलोड भएको मोबाइल तीन पटक चलाएमा जानकारी नजिकको प्रहरी कार्यालयमा आकस्मिक कलको रूपमा पुग्ने र पीडितको लोकेसन पनि प्रहरीले थाहा पाउने एप निर्माता इन्जिनियर आदित्य राजले दावी गरेका थिए । तर सो एप गुगल प्लेस्टोरबाट गायब भएको छ ।
इन्जिनियर आदित्य राजले एप निर्माण गरे पनि प्रदेश सरकारले त्यसलाई सञ्चालनमा नल्याउँदा प्रयोग विहीन बनेको बताएका छन् ।