वीरगञ्ज । मधेशीको नाममा राजनीति गरेर उपेन्द्र यादवले मधेशलाई नै बेचेको पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य बिमल प्रसाद श्रीवास्तवले आरोप लगाएका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा श्रीवास्तवकै संसदीय विकास कोषको रकमबाट निर्मित अत्याधुनिक अक्सिजन प्लान्टको उद्घाटन गर्दै सांसद श्रीवास्तवले उपेन्द्र यादव चिनबाट सञ्चालित रहेको अप्रत्यक्ष रुपमा संकेत गरेका छन् । उनले भने, ‘विगतमा वीरगञ्ज आउँदा पार्टीका नेता तथा कार्यकर्ताको घरमा बस्ने यादवलाई अहिले यहाँको सबैभन्दा ठूलो होटेल भिस्वा होटेलमा कोठा रिजर्भ गर्नुपर्छ । त्यो पनि एउटा हैन, ३÷३ वटा । एउटामा आफु बस्छन्, अर्काेमा उनका मनोरञ्जनका स्रोतसाधनहरु हुँदा रहेछन् र अर्काेमा अरु नेता एवम् कार्यकताहरु ।’
विदेशी दुतावासले दिएको पैँसाबाट डेढ करोडको गाडी चढेर शयर गरेको श्रीवास्तवको आरोप छ । दुतावासको नभई पार्टीकै रकमबाट खरिद गरेको भन्ने विषयमा उनले थपे, ‘नेपालमा कांग्रेस र कम्युनिष्टभन्दा पुरानो कुनै पार्टी छैन । उनिहरुकै अध्यक्ष तथा सभापति बस्नका लागि १० लाखसम्मको त गाडी किनेका छैनन् भने भर्खर जन्मिएको पार्टीका लागि डेढ करोडको गाडी चाहिने ?’
उनका सहपाठीहरु डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ जस्ता मधेशको बारेमा केही थाहा नभएका व्यक्तिहरुलाई राखेर मधेशको नाममा राजनीति गर्नेसँग कुनै अपेक्षा गर्न नसकिे उनले बताए ।
नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नेता पुरुषेत्तम साह, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ता लगायतले अब अक्सिजनको अभाव नहुने धारणा राखेका थिए ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगीका पिता स्व. चिरञ्जीवीलाल सरावगीको स्मृतिमा स्वचालित अक्सिजन प्लान्टको उद्घाटन भएसँगै अब अक्सिजनको अभावमा कसैले ज्यान गुमाउन नपर्ने विश्वास गरिएको छ ।