वीरगंज ।आर.सि.यादव। देशको अमूल्य सम्पत्तिहरुमध्ये युवा शक्ति पनि एक हो। युवाहरू परिवर्तन, रूपान्तरण र विकासका संवाहक र राष्ट्र निर्माणका प्रमुख स्रोत हुन्। युवाहरूको गुणात्मक र सङ्ख्यात्मक विकास र परिचालनले देशको विकास सम्भव हुन्छ। राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षसम्मका नागरिकलाई युवा भनेर परिभाषित गरेको छ भने युवा उमेर समूहको जनसङ्ख्या कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत रहेको छ। श्रम शक्ति सर्वेक्षण २०७४ अनुसार नेपालमा प्रत्येक वर्ष करिब ५ लाख जनशक्ति श्रम बजारमा प्रवेश गर्दछन्।
आन्तरिक रोजगारीको प्रशासन क्षमता न्यून हुँदा अतिरिक्त श्रम शक्ति वैदेशिक रोजगारीमा जाने गरेका छन् भने दैनिक करिब १ हजार जना युवा विदेशिने गरेका छन्। १५ देखि २४ वर्ष उमेर समूहको बेरोजगार दर २१.४ र २५ देखि ३९ वर्ष उमेर समूहको बेरोजगार दर ११.६ प्रतिशत रहेको अवस्था छ। उदार श्रम नीति, सीपमूलक श्रम शक्तिको अपर्याप्तता, कमजोर श्रम निरीक्षण तथा नियमनका कारण विदेशी श्रम आप्रवाह बढ्दै गएको र स्वदेशी श्रम शक्ति विस्थापित हुँदै गएको छ। श्रम शक्तिको ३६.५ प्रतिशत औपचारिक क्षेत्रमा संलग्न रहेको, कूल बेरोजगारी दर ११.५ प्रतिशत रहेको, श्रम शक्ति सहभागिता दर ३८.५ रहेको, बाध्यकारी श्रम सहभागिता दर १.२ प्रति हजारको अवस्था रहेको छ।
नेपालको सन्दर्भमा गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, उदारीकरण, सूचना प्रविधिको विकास, विश्वव्यापीकरण,उद्यमशील वातावरणको अभाव, सामाजिक विभेद जस्ता तत्त्वहरू युवा विकासको बाधक भएकोले बाध्य भएर युवाहरू रोजगारीका लागि विदेश पलायन हुनु परेको छ। विश्व नै कोरोना महामारीले आक्रान्त छ। कोभिड-१९ को कारण युवाहरूले रोजगारी गुमाउँदा आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य, शिक्षाजस्ता मानव विकासका पक्षहरूमा प्रतिकूल प्रत्यक्ष असर गरेको छ। कोभिड-१९ महामारी नियन्त्रण गर्न नेपाल लगायत विश्वले नै बन्दाबन्दी गर्ने विधि अवलम्बन गरेकोले बेरोजगारी दर बढ्ने, आन्तरिक र वैदेशिक रोजगारी खुम्चिने, आर्थिक वृद्धि दर नकारात्मक हुन गई गरिबी दर बढ्ने प्रवृत्तिका नकारात्मक सूचकहरूले युवाहरूको चौतर्फी विकासमा अवरोध खडा गर्ने देखिँदै छ।
राष्ट्रिय विकासमा युवाहरूको सहभागिता अभिबृद्दी गर्दै राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारहरूको पूर्ण उपयोग गर्ने वातावरण तयार गरी युवाको सर्वाङ्गीण विकास, सशक्तीकरण र युवा उद्यमशीलताका लागि शिक्षा, स्वास्थ्य,रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयनमा सबै पक्ष जबाफदेही, दायित्वबोध र जिम्मेवार हुनु पर्ने देखिन्छ। कुनै पनि नेपाली नागरिकले बाध्यात्मक परिस्थितिले विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्न युवा शक्तिलाई स्वदेश मै स्वरोजगार तथा रोजगारको सिर्जना गरी समग्र राष्ट्रको विकासमा उनीहरूलाई सरिक गराउन सकियो भने मात्रै समतामूलक र समाजवाद उन्मुख समाज निर्माण गर्न सकिन्छ।