महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। मिश्रले जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर बनेको महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका हुन्।मंगलबार जिल्ला निर्वाचन कार्यालय महोत्तरी पुगेर उनले लोसपाको पक्षमा सनाखत गराएका हुन्। मिश्र तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट जलेश्वरका मेयरमा निर्वाचित भएका थिए। गत वर्ष वैशाखमा राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो।
भदौ ९ गते निर्वाचन आयोगबाट लोसपाले विभाजित दलको मान्यता पाएको थियो। आयोगले नयाँ दल रोज्न चाहने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्मको समय दिएको छ।
नयाँ दल रोज्न आयोगले गरेको निर्णयअनुसार मंगलबार प्रदेश २ का अधिकांश जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गराइरहेका छन्।मंगलबार र बुधबारभित्र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत भइसकेपछि विहीबारदेखि प्रदेशसभा सदस्यहरूले दल रोज्न सनाखत गराउने तयारी रहेको लोसपाका एक नेताले जानकारी दिए।
प्रदेश २ मा जसपाका ५५ जना प्रदेशसभा सदस्यमध्ये पूर्वराजपाका २५ जना छन्। तर, पछिल्लो समय जसपामा विवाद सुरू भएपछि पूर्वराजपाका ९ प्रदेशसभा सदस्य अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागेका थिए।निर्वाचन आयोगले नयाँ दल रोज्न अवसर दिएपछि उपेन्द्र पक्षमा गएकामध्ये केही प्रदेश सांसदहरू लोसपमा फर्किने एक नेताले बताए।