वीरगन्ज । सुप्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा लगाइएको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको तस्बिरसहितको होर्डिङ्ग बोर्ड हटाइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृतका लागि सिफारिस प्रख्यात जानकी मन्दिर परिसरमा राखिएका होर्डिङ्ग बोर्ड र ब्यानर स्थानीय युवाहरुले हटाएका हुन् ।
मुख्यमन्त्री राउतले पब्लिसिटी र भाइरल बन्ने चक्करमा राखिएका होर्डिङ्ग बोर्डले मन्दिरको सौन्दर्यतामाथि नै प्रश्न उठेको भन्दै युवाहरुको सक्रियतामा मन्दिर कुरुप बनाउने होर्डिङ्ग बोर्ड हटाएका छन् ।स्थानीय अगुवा युवाहरुले होर्डीङ्ग बोर्ड हटाउन मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराए पनि नसुनेपछि प्रतिकारमा उत्रिन बाध्य भएको युवाहरुको प्रतिक्रिया छ ।
व्यवसायिक र राजनीतिक प्रयोजनका होर्डिङ्ग बोर्डहरु लगाएर कुरुप बनाउन खोजिएपछि आफूहरुले हटाएको युवा अभियान्ता सरोज मिश्रले बताए ।मन्दिरको गरिमाको ख्याल गरि धार्मिक महत्वका मात्र पोस्टर, पम्पलेट र होर्डिङ्ग बोर्ड लगाउन उनीहरुले आग्रह समेत गरेका छन् ।आगामी दिनमा धार्मिक नगरि जनकपुरधामको कुनै पनि मठमन्दिरका पर्खालहरुमा व्यवसायिक प्रयोजनका प्रचार प्रसार सामग्री टाँसेमा कानुनी उपचारमा जाने युवाहरुले चेतावनी समेत दिएका छन् ।