वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले अपराधिक गतिविधि नियन्त्रणका लागि सिसि टिभी क्यामेरा अपरिहार्य भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगञ्ज उद्योग वाणिज्य संघको सयुँक्त आयोजनामा सिसि टिभी लिड भिडियो वाल तथा नियन्त्रण कक्ष भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मख्यमन्त्री राउतले सिसिटिभी क्यामेराले सुरक्षित आभाष गराउने विश्वास पनि व्यक्त गरे । विगतमा भए गरेका घटनाहरुबाट उद्योगी, व्यवसायीहरुका साथै अन्य नागरिकले पनि असुरक्षित महसुस गरीरहेको अवस्थामा नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरीको भुमिका महत्वपूर्ण हुनेमा राउतले जोड दिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघ सुरक्षाको विषयमा विगतदेखि नै चिन्तीत रहेको चर्चा गर्दै उनले संघकै सक्रियतामा वीरगञ्जलाई सिसि टिभी क्यामेराको निगरानीमा राख्न सफल भएको बताए । साथै आगामी दिनमा हरेक चोक र हरेक गल्लीमा सिसिटिभी क्यामेरा जडान गर्ने र यसमा प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
मुख्यमन्त्री राउतको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ३२ लाखको लागतमा निर्मित सिसि टिभि लिड भिडियो वाल तथा नियन्त्रण कक्षको उद्घाटन कार्यक्रममा प्रदेश नम्बर २ का प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेश रञ्जितकार, प्रदेश सभा सदस्यद्वय जन्नत अन्सारी, प्रह्लाद गिरी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश प्रसाद लाठ, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले सिसिटिभी क्यामेराले अपराधीक गतिविधि न्युनिकरण हुने विश्वास व्यक्त गरेका थिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिब मनोज दासको अध्यक्षतामा कार्यक्रम समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।