वीरगन्ज । अमेरिकामा १०० वर्ष उमेरकी वृद्धाले भारोत्तँेलनमा नयाँ विश्वरेकर्ड बनाएकी छिन् । यति वृद्ध उमेरमा पनि एथिड मुरवे ट्रेनाले १५० पाउण्ड तौल उठाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा आफ्नो नाम लेखाएकी छिन् । फ्लोरिडाकी यी वृद्धा ९८ वर्षको उमेरमा विश्वकै सबैभन्दा जेठी पावरलिफ्टर बनेकी थिइन् । अहिले उनले आफ्नै रेकर्ड तोडेकी छिन् ।
गिनिज वर्ल्ड रेकर्डका अनुसार ९९ वर्ष पूरा भएर १०० वर्ष लागेको जन्मदिनकै दिन उनले नयाँ रेकर्ड बनाएकी हुन् । उनको यो नयाँ रेकर्डलाई अर्को महिना गिनिज वर्ल्ड रेकर्डस २०२२ मा प्रकाशित गरिनेछ । मुरवे ट्रेनाले ९१ वर्षकी हुँदा यो खेलमा प्रवेश गरेकी थिइन् । उनी एक साथीको साथमा पहिलो पटक जिम गएपछि यो खेलप्रति प्रेरित भएकी थिइन् ।
९८ वर्षको उमेरमा सबैभन्दा धेरै उमेरकी पावरलिफ्टरको रेकर्ड बनाएकी यी हजुरआमाले आइतबार १०० वर्षकी भएपछि नयाँ रेकर्ड बनाउँदै आफ्नै पुरानो रेकर्ड तोडेकी हुन् । यी महिलाले नयाँ रेकर्ड बनाएपछि भनिन् ‘मैले महिलाहरुलाई जिममा तौल उठाइरहेको देखेपछि म पनि यस्तो गर्न सक्छु भन्ने लाग्यो र मैले पनि गरें र यो मलाई निकै रमाइलो लाग्यो ।’