वीरगन्ज । साउन २४ गते आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तथ्यांकमा २४ घण्टामा ५५ जना कोभिड संक्रमितको मृत्यु भएको तथ्यांक सार्वजनिक गर्यो । दैनिक मृत्युको यो संख्या साउनयताकै सबैभन्दा बढी हो । नेपालमा साउनयता कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक ४० भन्दा माथि छैन ।
मन्त्रालयको तथ्यांकअनुसार साउन १ देखि २४ गतेसम्म नेपालमा कोभिड संक्रमणबाट ६३० जनाको मृत्यु भएको छ भने जम्मा मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । सोही अवधिमा ५२ हजार ३०७ जना नयाँ संक्रमित थपिँदा ४२ हजार ८३१ जना संक्रमणमुक्त भएका छन् । कोभिड संक्रमणबाट हालसम्म सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४ हजार २९७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।
त्यस्तै दोस्रो नम्बरमा लुम्बीनी प्रदेशमा १ हजार ६२७, तेस्रोमा प्रदेश १ मा १ हजार ४३०, चौथोमा गण्डकी प्रदेश १ हजार ११५, पाँचौंमा प्रदेश २ मा ७४७, छैटौंमा सुदूरपश्चिम प्रदेश ४४७ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४३० जनाको मृत्यु भएको छ । कोभिड संक्रमणबाट अहिलेसम्म मृत्यु भएकामध्ये सबैभन्दा बढी ६० वर्षमाथिका ५ हजार ४१३ जना रहेका छन् ।
त्यसैगरी ५० देखि ५९ उमेर समूहका १ हजार ९८६, ४० देखि ४९ का १ हजार ४४९, ३० देखि ३९ का ८३३, २० देखि २९ का ३१०, १० देखि १९ का ५०, ९ वर्षमुनिका बालबालिका ४५ र उमेर नखुलेका ७ जना रहेको मन्त्रालयको तथ्यांक रहेको छ । साउन २४ गते आएको ५५ जना मृतकको संख्या भने पछिल्लो चौबीस घण्टाको मात्र नभइ सीसीएमसीबाट विभिन्न समयमा प्राप्त भएको विभिन्न दिनको छुटेको तथ्यांकसमेत जोडेर सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।